२०८२ मंसिर १९ | Dec 05, 2025

प्रचलनमा आए नेपालमै छापिएका हुलाक टिकट

BusinessPati बिजनेस पाटी
|
२०८० फाल्गुन ४
|
255 views

काठमाडौँ ०४ फागुन २०८०

६४ वर्षपछि नेपालमै छापिएको हुलाक टिकट आजदेखि प्रचलनमा आएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनक शिक्षा सामग्री केन्द्रमा मुद्रण गरिएका ११ प्रकारका हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाइन्।

हुलाक सेवा विभागले सहिद रामवृक्ष यादव, वाम  आन्दोलनकी नेत्री साहना प्रधान, साहित्यक व्यक्तित्व तथा राजनीतिज्ञ नेत्रलाल पौडेल ‘अभागी’ र प्रजातान्त्रिक आन्दोलनका योद्धा कामी बुढा तथा नई प्रकाशनको रजत जयन्ती, श्रीबला त्रिपुरासुन्दरी देवी मन्दिर, औषधीय गुणले भरिपूर्ण मरेठी र विभिन्न चार प्रकारका जडीबुटी अङ्कित हुलाक टिकट प्रकाशन गरेको हो।

राष्ट्रिय व्यक्तित्व, महत्त्वपूर्ण जडीबुटी, धार्मिकस्थलका ८० लाख थान हुलाक टिकट प्रकाशन गरिएको विभागका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए। यसअघि भारत, इण्डोनेसिया, लाद्भियालगायत मुलुकमा हुलाक टिकट मुद्रण हुँदै आएको उल्लेख गर्दै उहाँले नेपालमै टिकट छापिन थालेसँगै समय र लागत बचत भएको बताए।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तित्व तथा औषधीय गुणले भरिपूर्ण जडीबुटी, भाषा–साहित्यको क्षेत्रमा क्रियाशील संस्था र प्रसिद्ध धार्मिकस्थलका बारेमा टिकट प्रकाशन गरिएको बताइन्। मुलुकको राजनीतिक परिवर्तनका लागि हजारौँको बलिदान भएको उल्लेख गर्दै उनले पछिल्ला पुस्ताले पनि सङ्घर्ष गरेको अघिल्ला पुस्ताका योगदानका बारेमा प्रष्ट हुनुपर्ने बताइन्।

पूर्वमन्त्री दीनानाथ शर्माले मुलुकको राजनीतिक परिवर्तनमा योगदान दिनुभएको व्यक्तित्व तथा नेपालमा मात्रै पाइने जडीबुटीका बारेमा हुलाक टिकट प्रकाशन गरेर सरकारले प्रशंसनीइ काम गरेको बताए।

पूर्वमन्त्री रामकुमारी झाँक्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि अघिल्ला पुस्ताले ठूलो बलिदान गरेको उल्लेख गर्दै पछिल्ला पुस्ताले पनि उक्त योगदानबाट शिक्षा लिनुपर्ने बताइन्। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया