पवनलाल श्रीवास्तव राष्ट्रिय बौद्धिक केन्द्रका अध्यक्ष हुनुहुन्छ । यो केन्द्रले विगत केहिवर्ष अघिदेखि राष्ट्रिय हित, राष्ट्र एकता, राष्ट्रियताको संरक्षणको लागि विभिन्न कार्यक्रमहरु गर्दै आउनु भएको छ । यो मञ्चले राष्ट्रियता रक्षण सभा, राष्ट्रिय एकता सभा र राष्ट्रियताको लागि संगीतको उपदेयता र अन्य विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । यस बौद्धिक केन्द्रका अध्यक्ष पवनलाल श्रीवास्तवले मञ्चको उद्देश्य र गरेका कार्यको बारेमा विभिन्न सञ्चार माध्यमहरु जस्तै पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन खबरहरुमार्फत संप्रेषण गर्नु भएको छ । भर्खरै केहि दिन अघि मात्र मेगा टेलिभिजनमा देशमा उत्पन्न भयानक संकटको सामना कसरी गर्न सकिन्छ भन्ने बिषयमा समेत एक अन्र्तवार्ता दिनु भएको थियो । मुलुकमा महामारीबाट उत्पन्न परिस्थितिको आर्थिक संकटको सामना गर्नका लागि राज्य र जनताको तर्फबाट कस्तो भूमिका खेल्नु पर्छ भन्ने बिषयमा यस टपटेन खबरका प्रतिनिधि सँग वहाँले राख्नु भएको विचार यहाँ प्रस्तुत गरिएको छ:-
उहाँले भन्नु भएको छ, ‘विश्वका अन्य मुलुकमा झै हाम्रो मुलुकले पनि महामारीबाट उत्पन्न परिस्थितिको सामना गरिरहेको छ । मानविय स्वास्थ्यमा गम्भीर असर मात्र पारिरहेको छैन । आर्थिक संकटको पनि विभिन्न क्षेत्रमा भयानक असर पारिरहेको छ । यस्तो अवस्थामा सरकार र जनताको समन्वय र सहकार्यले मात्र संकटबाट पार पाउन सकिन्छ । यस्तो संकटमा जनताले आफ्नो काँधमा महान दायित्व बोक्नु पर्छ र जनताबाट केहि पाउनका लागि सरकारले उनीहरुको अर्थ ब्यवस्था मजबुत बनाउनु पर्दछ । जसको लागि कृषिसँग आवद्ध विभिन्न इकाईहरुको विकासका लागि ‘प्रजातान्त्रिक अर्थनीति’को माध्यमबाट सरकारले विशेष सहयोग गर्नु पर्दछ ।’
राष्ट्रिय बौद्धिक केन्द्रका अध्यक्ष पवनलालले सरकारलाई सुझाव दिनु भएको छ, ‘पब्लिक र प्राइभेट सेक्टर मजबुत भएमा मात्र सरकारको राजस्वमा वृद्धि हुन्छ । सरकारको राजस्वमा वृद्धि गर्न जनताको कर र उत्पादन सँग मेल खानेगरी नीति बनाउनु पर्छ र कृषि र कृषिजन्य उद्योगहरुमा न्यूनतम कर लगाई त्यो क्षेत्रलाई विशेष संरक्षण गर्नु पर्छ । पवनलाल श्रीवास्तवले संसदीय कार्यक्रम (पार्लियामेन्ट्री प्रोग्राम) लाई सफलता प्राप्त गर्न सरकारका कार्यक्रमहरुको जरो देशका ८५ प्रतिशत ग्रामीण जनतामा पुग्नु पर्ने आवश्यकता समेत औल्याउनु भएको छ ।
उहाँले भन्नु भएको छ, ‘८५ प्रतिशत ग्रामीण जनताको विकास बिना मुलुकको समृद्धि कदापी हुन सक्दैन । ती ८५ प्रतिशत जनतालाई सहकारिताको माध्यमबाट जोडि उत्पादन क्षमता बढाई, ती उत्पादनलाई आन्तरिक बजारको पूर्ति र देश बाहिर निर्यात गराउने दिशामा अघि बढ्ने हो भने मुलुकको समृद्धि चाढै हुनेछ । तसर्थ युवा निर्यात होइन वस्तु निर्यात गर्ने नीति बनाइ लागु गर्नु पर्छ । त्यसको लागि प्रजातान्त्रिक अर्थनीति बनाउने दिशामा सरकारको ध्यान केन्द्रित हुनु पर्छ । यसको लागि सर्वदलीय अलावा, राष्ट्रिय हित एवं अन्तराष्ट्रिय समन्वय प्रति योगदान दिने बुद्धिजीवी, समाजसेवीहरुलाई पनि सम्मिलित गरी सरकारसँग आर्थिक निर्माणको गतिविधिमा लैजानु पर्दछ । यस्तो कार्यबाट मात्र समाजवादको दिशा अघि बढ्न सकिन्छ । मानवतावाद र समाजवादले मुलुकको हित हुन्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय जनताप्रति हाम्रो भावना उदारता, सहिष्णुता र मैत्री भावना समेत हुनु पर्ने कुरामा वहाँले जोड दिनु भएको छ ।