काठमाडौ । भारतको केआइआइटीमा अध्ययनरत छात्रा प्रिसा साहको शङ्कास्पद मृत्यु प्रकरणबारे सत्य तथ्य पत्ता लगाउन र छानबिनका लागि पहल गर्न संसदले सरकारलाई निर्देशन दिएको छ । प्रिसाको मृत्युको कारण र विदेशमा बसी अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुको सुरक्षा प्रत्याभूतिको व्यवस्था गर्न सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले यस प्रकरणमा के–कसो भएको हो भनेर खोजिनीति गर्न निर्देशन दिनुभयो । “उज्यालो भविष्य देखेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरुको एकपछि अर्को मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु”, सभामुख घिमिरेले भन्नुभयो । साथै विदेशमा रहेका अरू नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न गराउन पनि निर्देशन दिनुभयो ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्ने क्रममा सांसदहरुले हालै किट विश्वविद्यालयमा भएको प्रिसा साह मृत्यु प्रकरणबारे संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । केही समयअघि सोही विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको पनि रहस्यमय ढङ्गले मृत्यु भएको थियो । पुनः सोही प्रकृतिको घटना अहिले दोहोरिएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरुले थप असुरक्षित महसुस गरेको सांसदहरुको भनाइ छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले भारतको किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु हुनु राष्ट्रको संवेदनशील विषय भएको भन्दै सत्य तथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका छन् । साथै उनले घटनाबारे संवाद अघि बढाएर परिवारलाई सहयोग गर्न र विदेशमा अध्ययनरत विद्यार्थीको आवश्यक सुरक्षा मिलाउन सरकारलाई निर्देशन समेत दिएका हुन् ।
भारतको किट विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालपछि प्रिसा साहको रहस्यमय मृत्यु भएको भन्दै सभामुखले भने भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको निधनबारे माननीयज्यूहरूले आकस्मिक समयमा उठाउनुभएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको छ ।’, सभामुखले रुलिङ गर्दै भने, “‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि बिदेसिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्य तथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु ।’
आगामी दिनमा विदेशमा अध्ययनरत विद्यार्थीहरुको सुरक्षाका लागि पहल गर्न सभामुख घिमिरेले सरकारसमक्ष आग्रह गरे ।