काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा सरकारले कडा शब्दमा निन्दा गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री ओलीले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले “दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतङ्कवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भत्र्सना गर्दछ ” , लेखेका छन् ।
उक्त आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसै विषयलाई लिएर नेपालको परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।
“नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्”, विज्ञप्तिमा भनिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छभने अन्य १० जना घाइते भएका छन् ।