काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका समकक्षकी पेटोङटार्न सिनावात्रा बीच सिष्टाचार भेटवार्ता भएको छ ।
नेपालबाट प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्य सचिव एक नारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु पनि सहभागी हुनुभएको छ ।
भेटवार्ता अघि थाइल्याण्डको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई थाइल्याण्डको सरकारी भवनमा उहाँको समकक्षी सिनावात्राले औपचारिक स्वागत गर्नुभएको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार आज नेपाल र थाइल्याण्डबीच सँस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिने कार्यक्रम छ । यसैगरी दुई देशबीचको गैरसरकारी र व्यवसायिक बीच विभिन्न ६ वटा सहमतिपत्र आदान–प्रदान हुनेछन् । दुई पक्षीय सम्झौता पछि नेपाल र थाइल्याण्ड दुवैका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सम्मानमा समकक्षी सिनावात्राले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओलीले आजै थाइनरेश महाबजिरालुङकनसँग सिस्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ ।