काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच भेटघाट भएको छ । ब्राजिलीयन फुटबलर कार्लोस र प्रधानमन्त्री ओली बीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटघाट भएको हो ।
नेपाल सुरपल लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न नेपाल सुपर लिग आयोजकको निमन्त्रणामा विश्वविजेता कार्लाेस काठमाडौँ आएका हुन् ।
बुधबार सिंहदरबारमा भएको भेटघाटका अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए । प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।
यसै अवसरमा प्रधानमन्त्री ओलीले फुटबल खेलाडी कार्लाेसलाई ‘माउन्टेन फ्ल्याइट’ र जङ्गल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे । यसैक्रममा ब्राजिलीयन फुटबलर कार्लोक्सले पनि आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताएका छन् ।