काठमाडौं । पन्ध्र दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका शिक्षकहरु निरन्तर सडक संघर्षमै देखिएका छन् । तत्काल शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।
शिक्षकहरुको आन्दोलनका कारण राजधानीको माइतीघर–बबरमहल सडकमा यातायात सेवा अवरुद्ध हुँदा माइतीघर–बबरमहल–नयाँ बानेश्वर सडकमा सवारीसाधन आवात जावतमा कठिनाइ आएको छ । शिक्षकहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको हो ।
मंगलबारको मन्त्रिपरिषदको बैठकले शिक्षक कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन त्यागेर आ–आफ्नो काममा फर्कन आग्रह गरेको थियो ।
तर शिक्षक महासंघले भने सरकारबाट पटक–पटक शिक्षकहरुलाई झुटो आश्वासन दिँदै फर्काउँदै गरेको भन्दै आन्दोलनलाई निरन्तरता दिने जनाएको छ । शिक्षक महासंघले शिक्षा ऐन जारी नभएसम्म थप शिक्षक कर्मचारीहरुलाई काठमाडौंमा केन्द्रित भएर आन्दोलन चर्काउन आह्वान गरेको छ ।
आज पनि सडकभरि शिक्षक कर्मचारीहरु नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सहभागीहरुले ‘शिक्षा ऐन जारी गर,’ ‘शिक्षा ऐन विरोधीहरु होसियार’ लगायतका नारा लगाइरहेको देख्न सकिन्छ।
विद्यालयमा हड्ताल गरेर शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रिँदा सरकारी विद्यालयहरुमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका सम्पूर्ण शैक्षिक गतिविधि पनि प्रभावित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने तयारी गरे पनि अहिलेसम्म उत्तरपुस्तिका परीक्षण सुरु नै नभएकाले नतिजा सार्वजनिक ढिलो हुने सम्भावना छ ।