ललितपुर । आफ्नो फेसबुक वालमा लामो स्टाटससहित ‘अदबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ काठमाडौंको बालाजुमा फेला परेको नेपाल प्रहरीले जानकारी गराएको छ ।
आज (सोमबार) बिहान फेसबुकमा ‘अदबिदा’ लेखेर सम्पर्कविहीन भएका श्रेष्ठको नेपाल प्रहरीको टोली र आफन्तले तीव्र रुपमा खोजी कार्य गरेका थिए ।
रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरेका डा. श्रेष्ठ सहकर्मीबाट आएको दबाब, आलोचना, आफू विरुद्ध रचिएको प्रपन्च र असहयोगले मानसिक रुपमा विछिप्त भएकै कारण सामाजिक सञ्जालमा अलबिदा भन्दै सम्पर्कविहीन भएका थिए ।
डा. श्रेष्ठले आफूलाई दुःख दिने र यो अवस्थामा पु¥याउने कतिपयको नाम समेत सार्वजनिक गरेका छन् ।
उनको स्टाटस सार्वजनिक हुने बित्तिकै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीसहित साइबर ब्यूरो, काठमाडौं परिसर लगायतको टोली उनको खोजी कार्यमा जुटेको थियो ।
डा. श्रेष्ठको मोबाइल स्वीच अफ भए पनि उनको पछिल्लो लोकेशन चावहिलको गोपीकृष्ण हल नजिकै देखिएकोले चावहिल र आसपालका क्षेत्रमा उनको खोजी कार्य तीव्र रुपमा गरिएको र उनलाई बालाजुबाट फेला पार्न सफल भएको जिल्ला परिसर काठमाडौंले जानकारी गराएको छ ।
नवलपरासीको गैंडाकोट स्थायी घर भएका डा. श्रेष्ठ काठमाडौंका कपनमा बस्दै आएका छन् ।
सोमबार विहानै सामाजिक सञ्जाल फेसबुकबाट परिवार लगायत आफन्तहरुलाई सरी भन्दै अलबिदा लेखेर सम्पर्क विहीन भएका डा. श्रेष्ठलाई बालाजुबाट नेपाल प्रहरीले यतिबेला भद्रकालीमा ल्याउँदै छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया