फ्रान्सेली विदेशमन्त्री जिन–नोएल बारोटले सोमबार संयुक्त राज्य अमेरिका र इरानबीचको अप्रत्यक्ष वार्तालाई स्वागत गर्नुभएको छ । यद्यपि उहाँले युरोप आफ्नो सुरक्षा सरोकारहरू समावेश भएको सुनिश्चित गर्न ‘सतर्क’ रहने कुरामा जोड दिनुभएको छ । इरानी विदेशमन्त्री अब्बास अराघची र अमेरिकी मध्यपूर्वका दूत स्टिभ विटकफले शनिबार मस्कटमा ओमानी मध्यस्थतामार्फत पहिलो चरणको वार्ता गर्नुभएको थियो । यो सन् २०१५ को सम्झौता भङ्ग भएपछि इरान–अमेरिका आणविक वार्ताको उच्च स्तरको बैठक हो । उहाँहरू सात दिनपछि फेरि भेट्ने कुरामा सहमत हुनुभएको छ । “हामी यस कदमलाई धेरै स्वागत गर्दछौँ, तर कुनै पनि वार्ता हाम्रो सुरक्षा चासो अनुरूप छ भनेर सुनिश्चित गर्न हामी हाम्रा बेलायती र जर्मन साथीहरू र साझेदारहरूसँग सतर्क हुनेछौँ”, लक्जेमबर्गमा युरोपेली सङ्घ (इयु) विदेशमन्त्रीहरूको बैठकमा बारोटले भन्नुभयो । इरानको विदेश मन्त्रालयले आइतबार अमेरिकासँग अर्को सप्ताहन्तमा हुने वार्ता ओमानी मध्यस्थतासँग ‘अप्रत्यक्ष’ रहने र आणविक मुद्दा र प्रतिबन्धहरू हटाउनमा मात्र केन्द्रित रहने बताएको छ ।
फ्रान्स : अमेरिका–इरान वार्ताको स्वागत तर ‘सतर्क’
