काठमाडौँ । आगामी जेठ १५ गते सार्वजनिक हुने आगामी आर्थिक वर्षको बजेट निर्माणको काम धमाधम भइरहेको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा अधिकांश सांसदहरुले बजेटको प्राथमिकताका विषयका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बैठकको विशेष समयमा सांसद ध्रुवबहादुर प्रधानले पूर्वसांसद जोगमेहर श्रेष्ठलाई जोडेर एक सांसदले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाए । उक्त भाषाले नेवार समुदायलाई नै अपमानित गरेको भन्दै सांसद प्रधानलले आपत्ति जनाए ।
सांसद शेरबहादुर कुँवरले भारतीय सेनामा नेपालीलाई गोरखा भर्ती गर्दै आएकामा अग्निरेखाका नाममा फरक पार्न थालिएकाले स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरे। भूकम्पलगायत विपद्मा प्रभावित जनताले राहत पाउन समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि आवश्यक भएको उनको भनाइ छ ।
सांसद रञ्जुकुमारी झाले योगदानमा आधारित सामाजिक सुरक्षा भत्ताको व्यवस्थाको माग गरे। सौर्य एयरको विमान दुर्घटनामा परेकाले अहिलेसम्म क्षतिपूर्ति नपाई गुनासो बढिरहेको सुनाउँदै उहाँले क्षतिपूर्तीको छिटो व्यवस्था गर्न पनि उनले माग गरे ।
यस्तै, सांसद रेखा यादवले कृषि क्षेत्रको विकासमा सरकार गम्भीर भएको देखिँदैन भन्दै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सबै किसानलाई परिचयपत्र दिने भनिए पनि अहिलेसम्म १९ लाखले मात्र पाएको पनि उनले बताए । अग्र्यानिक मल आयात गर्दा २४ दशमलव ३९ प्रतिशत भन्सार लिनु गलत भएको सांसद यादवले बताए।
सांसद रामप्रकाश चौधरीले सागरनाथ वन विकास परियोजनाको वन प्रयोजनविहीन रहेकाले विमानस्थल बनाउनुपर्ने माग गर्नुभयो । सागरनाथ वन विकास परियोजना प्रयोजनहीन भएको, ११ महिनादेखि कर्मचारीले तलब नपाएको, हजारौँ बिघा जमिन अतिक्रमणमा परेको पनि उनले जानकारी गराए ।
त्यसैगरी सांसद प्रेम सुवालले वैदेशिक रोजगारीमा जानेले अत्यधिक तापक्रममा काम गर्नुपरेकाले स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गर्नुभयो । दुग्ध किसानले अहिलेसम्म पनि भुक्तानी नपाएर समस्या भएकाले छिटो भुक्तानी दिन माग गरे ।
सांसद प्रभु साहले लघुवित्तपीडितको समस्या किन समाधान नगरिएको भनी प्रश्न गर्नुहुँदै डेपुटी गभर्नरको संयोजकत्वमा बनेको छानबिन समितिको प्रतिवेदन छिटो सार्वजनिक गर्न माग गरे। प्रतिवेदनका आधारमा लुटिएका लघुवित्तपीडितलाई छिटो न्याय दिई सडकबाट फिर्ता गराउन पनि सांसद साहले माग गरे।
त्यसैगरी, सांसद डा. अमरेशकुमार सिंहले सर्लाहीको सत्बरिया गाउँपालिका–३ वडा कार्यालय र एक आधारभूत विद्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह तथा वातावरण मन्त्रालयलगायत निकाय एवं सर्लाहीबाट प्रतिनिधित्व गर्ने सांसदलाई पनि पत्र पठाएर क्रसर उद्योगले आधारभूत विद्यालयमा पढ्न नसक्ने अवस्था रहेको बताउनुभयो । क्रसरको तस्बिर खिच्ने पत्रकारलाई डाँका मुद्दा लगाइएकाले यसको छानबिन गरी दोषीमाथि कारबाही गर्न उनले माग गरे ।