ललितपुर । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै सांसद सञ्जयकुमार गौतमले समृद्धिको आधारका रुपमा रहेको कृषि क्षेत्र र किसानलाई बिर्सेको टिप्पणी गर्दै मल, बिउको उचित प्रबन्धसहित खाद्य उपजमा आत्मनिर्भर बन्ने सोचका साथ आगामी आवको बजेट प्रस्तुत गर्न अनुरोध गरेका छन् । उनले व्यापार घाटा कम गर्ने विषयलाई केन्द्रित गर्दै स्वदेशमै उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्नेगरी आगामी आवको बजेट ल्याउन अनुरोध गरे ।
सांसद भगवती चौधरीले विनियोजन विधेयकले ऊर्जा, पूर्वाधार क्षेत्रको विकासमा जोड दिँदै बजेटलाई थप यर्थाथवादी बनाउन सुझाव दिइन् ।। सूचना प्रविधि, कृषि, पर्यटलाई विशेष प्राथमिकतामा राख्न पनि उनले आग्रह गरिन् । सांसद सूर्यमान दोङले कृषि, पर्यटन, जलविहारमा समेत सहयोग गर्ने सुनकोशी तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक बजेटसहित अघि बढाउन अनुरोध गरे ।
सांसद रामकृष्ण यादवले मुलुकको भौगोलिक विविधतालाई सम्बोधन गर्दै आगामी आर्थिक बर्षको बजेट विनियोजन गर्न सुझाव दिए । उनले नीति तथा कार्यक्रममा ठूला, पूर्वतयारी भएका र लगानी ढाँचा तय भएका आयोजनालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिनु सकारात्मक पक्ष भएको धारणा व्यक्त गरे । उनले कृषि क्षेत्रको प्रवद्र्धनका लागि देशभित्रै रासायनिक मल कारखाना स्थापना गर्न, गुणस्तरीय मल बउिको प्रबन्ध गर्न सरकारसँग आग्रह गरे ।