काठमाडौं ०४ माघ २०८०।
काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार पक्राउ गरेको हो ।
घरबाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
१५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानीज ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
बादे नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।