२०८२ मंसिर २६ | Dec 12, 2025

बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २६
|
918 views

ललितपुर । प्रसिद्ध बलिउड अभिनेता तथा हिन्दी सिनेमाका ही–म्यान धर्मेन्द्र उपचारपछि आज (बुधबार) अस्पतालबाट डिस्चार्ज भएका छन्। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

करिव तीन हप्ताको उपचारपछि आज उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । श्वासप्रश्वास र निमोनियाका कारण ब्रीच क्यान्डीमा उनको उपचार गरिएको थियो । धर्मेन्द्रको उपचारमा खटिएको चिकित्सक टोलीका एक डा. प्रीत सम्दानीले बीबीसी हिन्दीलाई बताएअनुसार धर्मेन्द्रलाई बुधबार बिहान ब्रीच क्यान्डी अस्पतालबाट घर पठाइएको हो ।

मंगलबार कतिपय भारतीय र नेपाली सञ्चारमाध्यमहरुले धर्मेन्द्रको मृत्युको खबरसमेत छापेको थिए । त्यसपछि धर्मेन्द्रकी छोरी ईशा देओल र श्रीमती हेमा मालिनीले मिडियामा उनको मृत्युको बारेमा गलत समाचार प्रसारित भएपछि कडा असन्तुष्टि व्यक्त गरेका थिए।

ईशा देओलले मिडिया हतारमा गलत समाचार फैलाइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन्। “मेरो बुबा स्थिर हुनुहुन्छ र निको भइरहनुभएको छ। उहाँको स्वास्थ्यलाभको लागि प्रार्थना गर्नुभएकोमा धन्यवाद, तर मिडियाहरूले गलत समाचार फैलाइरहेका छन्।”

धर्मेन्द्रकी श्रीमती, अभिनेत्री तथा सांसद हेमा मालिनीले इन्स्टाग्राममा लेखेकी थिइन्, “जे भइरहेको छ त्यो अक्षम्य छ, जिम्मेवार च्यानलहरूले उपचारमा प्रतिक्रिया दिइरहेको र निको भइरहेको व्यक्तिको बारेमा कसरी गलत समाचार फैलाउन सक्छन् ?” उनले अगाडि लेखेकी थिइन, “यो अत्यन्तै अनादरपूर्ण र गैरजिम्मेवारपूर्ण छ। कृपया परिवार र उनीहरूको गोपनीयताको सम्मान गर्नुहोस्।”

फेसबुकबाट तपाईको प्रतिक्रिया