बाढीले बेनीमा एक घर बगायो, ४५ घर जोखिममा

म्याग्दी ७ भदौ, २०७८ 

बेनी नगरपालिका-३ भकिम्लीको दूधेखोलामा आज बिहान बाढीले एक घर बगाएको छ।बाढीका कारण ४५ घर जोखिममा परेका छन्। भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सीमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउनाका साथै जोखिम बनाएको हो। वडा नं ३ भकिम्लीका वडा सदस्य गेमप्रसाद घर्तीले बाढीले बगाएर दिपा पुनको घर पूर्ण क्षति भएको जानकारी दिए।

‘नारायण पुन र तिलाराम थापाका घर उच्च जोखिममा छन्’, उनले भने, ‘दूधेखोलाको दाँयाबायाँ किनारमा रहेका ४५ घरधुरी भएको बस्ती नै बाढीको जोखिममा परेको छ।’नारायणको गोठमा बाँधेको दुहुना भैंसी भाग्ने क्रममा बाढीले बगाएर मरेको छ। करिब सात सय मिटरको दूरीमा बाढीले बस्तीतर्फ कटान गरेको छ। कोप्रेतर्फ पनि कटानको जोखिम छ। बाढीका कारण बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका चार वडालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–बरङजा सडक अवरूद्ध भएको छ। 

सडक अवरूद्ध हुँदा भकिम्ली, सुर्केमेला, बास्कुना, थामडाँडा र बरङजा सिधायातायात सम्पर्क विच्छेद भएको छ।सो क्षेत्रका किसानलाई बेनीमा दूध ढुवानी गर्न समस्या भएको छ। खानेपानी र सिँचाइका पाइप बाढीले बगाएको छ। हल्लेगौंडाको पहिराका कारण दूधेखोला-हल्लेगौंडा-डाडाँखानी हुँदै भकिम्ली जोड्ने सडक गत जेठदेखि नै अवरूद्ध छ। दूधेखोलाको बाढीले म्याग्दी खोला बग्ने ठाउँलाई साँघुरो बनाउँदा तलाउ बनेको छ।तलाउका कारण चुत्रेनीमा डुबान र कटानको जोखिम बढेको छ।राति १ः०० बजे भूकम्प जाँदाको जस्तो कम्पन आएपछि घर बाहिर निस्किँदा बाढी आएको देखेको र सुरक्षित ठाउँमा गएर रात कटाएको स्थानीयबासी ओमबहादुर घर्तीमगरले बताए। RSS

फेसबुकबाट तपाईको प्रतिक्रिया