बुटवल । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान केपी ओली नेतृत्वको सरकार र बिचौलियाबिच घनिष्ठ सम्बन्ध रहेको बताएका छन् ।
पार्टीले सञ्चालन गरेको जागरण अभियानअन्तर्गत आज भैरहवामा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले बिचौलियाकै कारण वर्तमान सरकारले गभर्नर नियुक्ति गर्न ढिलाइ गरिरहेको उल्लेख गरे । गर्भनर जस्तो पद यतिका दिनदेखि रिक्त रहँदा पनि यो सरकारले अझै पनि नियुक्ति गर्न नसक्नुमा विचौलियाकै कारण रहेको बताए । वर्तमान सरकारले राम्रा र सक्षमलाई नियुक्त गर्ने भन्दा बिचौलियालाई अवसर दिने गरेको उनले आरोप समेत उनले लगाए ।
््इमान्दार र राम्रा काम गर्न कर्मचारीहरुलाई दुःख दिने काम विचौलियासँगै मिलेर भइरहेको समेत उनले बताए । यतिबेला सरकार असंवैधानिक भएको छ भन्दै उनले यो सरकार दुई तिहाइको नभई षड्यन्त्र र अपारदर्शीको भएको उल्लेख गरे ।
विचौलिया र भ्रष्टाचारीलाई बचाउनकै लागि ओली नेतृत्वको सरकार बनाइको हो भन्दै अध्यक्ष प्रचण्डले सरकार निर्माण गर्दा कांग्रेस र एमालेका एक दुई जना नेता बाहेक अरूलाई थाहा नदिई अपारदर्शी ढङ्गले बनाइएको समेत आरोप लगाए ।
उनले तत्काल सरकार ढाल्ने विषयमा आफ्नो पार्टीको कुनै रुचि नरहेको स्पष्ट पार्दै आफ्नो पार्टीले जनताका अधिकार स्थापित गर्न र दुःख बुझ्न जागरण अभियान सञ्चालन गरेको बताए । उनले गत फागुन ११ गतेदेखि पूर्वको झापाबाट सुरु भएको तराई–मधेस जागरण अभियानअन्तर्गत हुलाकी मार्गको यात्राका क्रममा किसानका समस्या, सहिद–बेपत्ता परिवारका समस्या जस्ता अन्य जटिल समस्याहरु बुझ्ने मौका आफूले पाएको बताए ।