२०८२ माघ २ | Jan 16, 2026

बैंकहरुमा रकम थुप्रिएपछि बजारबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २८
|
102 views

ललितपुर । बैंकहरुले ब्याजदर घाटाए पनि निजी क्षेत्रले लगानी बढाउन सकेका छैनन् । बजारमा लगानी बढ्न नसक्दा बैंकहरुमा रकम थुप्रिने क्रम जारी छ ।

पछिल्लो एक वर्षदेखि वित्तीय प्रणालीमा देखिएको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बजारबाट निक्षेप संकलन गर्दै आएको छ । केन्द्रीय बैंकले आज (बुधवार) बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । बजारमा अधिक तरलता जम्मा भएपछि राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीबाट पटकपटक यसरी निक्षेप खिच्दै आएको छ ।

केन्द्रीय बैंकले आइतबार मात्र बजारबाट २० अर्ब रुपैयाँ तानेको थियो । एक हप्ता नबित्दै नेपाल राष्ट्र बैंकले २१ दिनका लागि आज फेरि ४० अर्ब रुपैयाँ खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी असार १८ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।

केन्द्रीय बैंककाअनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया