२०८२ मंसिर २० | Dec 06, 2025

बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न समिति गठन भएको भन्दै सिबिफिनको स्वागत

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ३०
|
255 views

ललितपुर ।  नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधारका लागि धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवत बहादुर कार्कीको संयोजकत्वमा समिति बनाउने निर्णयप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले स्वागत गरेको छ। कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले केन्द्रीय बैंकको निर्णयको प्रशंसा गरेका हुन्।

‘नवनियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीहरुको पहिचान र ठोस समाधानसहितका सुझाव पेश गर्नका लागि गठित सुझाव समितिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन० हार्दिक स्वागत गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको बैंकिङ इतिहासमा पहिलोपटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको सिबिफिनको निष्कर्ष रहेको छ।’

यसले सरोकारवालाहरुसँग सघन छलफल तथा संवाद गर्दै बैंकिङ क्षेत्रमा उत्पन्न समस्या एवं चुनौतीहरुको चुरोमा पुगेर वास्तविक वस्तुस्थिति बुझ्ने सिबिफिनले अपेक्षा गरेको छ।

नेपाल राष्ट्र बैंकबाट भइरहेको स्थलगत भ्रमण तथा अध्ययन, व्यवस्थापन÷सुपरिवेक्षणलाई प्रभावकारी बनाउने र विगतका नीतिहरुको समीक्षा गर्ने, हालै जारी वित्त नीतिको मर्म, वर्तमान आवश्यकता एवं अपेक्षाका आधारमा समयसापेक्ष मौद्रिक नीति ल्याई अर्थतन्त्र र वित्तीय क्षेत्रका समस्याहरुको निदान गर्ने गरी गभर्नरबाट व्यक्त भएका दूरगामी अभिव्यक्ति तथा सोअनुसार चालिएका सुधारमुखी पहलहरुले मुलुक अब आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा दिगो विकासको युगमा प्रवेश गरेको सिबिफिनले विश्वास लिएको छ।

‘आर्थिक एवं बैंकिङ क्षेत्रमा गहिरो अध्ययन तथा फराकिलो ज्ञान तथा अनुभव हासिल गर्नुभएका, केन्द्रीय बैंकभन्दा बाहिरका र निजीक्षेत्रको समेत अनुभव प्राप्त प्रतिष्ठित विषयविज्ञहरु समेत सम्मिलित उक्त सुझाव उपसमितिले अर्थतन्त्र र बैंकिङ क्षेत्रमा विकसित पछिल्ला घटनाक्रम, वस्तुनिष्ठ अवस्था, समस्या एवं चुनौतीसहित वित्तीय प्रणालीका वास्तविक पीडाबिन्दुका बारेमा सरोकारवालाहरुसँंगको छलफलबाट पहिचान गरी ठोस सुझाव दिने, नियामकीय सुधार, प्रणालीगत परिवर्तनका लागि आधार तय गर्ने र नीति निर्माणका लागि मार्गदर्शन हुनेमा सिबिफिन पूर्ण विश्वस्त रहेको छ’, सिबिफिनले भनेको छ।

उपसमितिले गर्ने हरेक अध्ययन, अनुसन्धान, छलफल तथा संवादका प्रक्रियाहरुमा सामेल भइ खोजमूलक अध्ययनको आधारमा तर्कपूर्ण सुझावहरुको साथमा उपसमितिसमक्ष आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्न तथा अभिभावकीय संस्था – नेपाल राष्ट्र बैंकले लिएका र लिने दूरगामी योजना तथा नीतिहरुको कार्यान्वयनमा अभिन्न सहयोगीको भूमिका निर्वाह गर्न सिबिफिन सदैव तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवत बहादुर कार्कीको संयोजकत्वमा गठित समितिमा राष्ट्र बैंकका नियमन विभाग प्रमुख गुरु पौडेल र पूर्वबैंकर भुवन दाहाल सदस्य छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया