
ललितपुर । बैकिङ प्रणालीमा तरलता थुप्रिँदै गएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) बजारबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत् राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको उक्त निक्षेप तान्न लागेको हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता जम्मा भएपछि यसको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले यसरी बजारबाट पैसा तान्दै आएको छ । राष्ट्र बैंकका अनुसार आज अर्थात् असार १५ गते दिउँसो ३ बजे अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । सावाँ ब्याज भुक्तानी आजै हुने राष्ट्र बैंकले जनाएको छ ।
बोल गर्न सकिने न्यूनतम रकम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने उल्लेख छ ।
आइतबारका लागि जारी बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ ‘ख’ र ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । साथै निक्षेप सङ्कलनको बोलकबोलममा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर ९दशमलव पछिको हकमा चार अङ्कसम्म० उल्लेख गर्नुपर्ने छ ।
निक्षेप सङ्कलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । अहिले कुल निक्षेप ७० खर्बमाथि पुगेको छ । बैंकमा ठुलो मात्रमा निक्षेप थुप्रिए पनि लगानी हुन सकिरहेको छैन ।
लगानीकर्ताको आत्मविश्वासमा अझै पनि कमी रहेको बैंकबाट प्रवाह हुने कर्जा बढ्न नसक्नुले पनि पुष्टि गरेको छ । कर्जा प्रवाह नबढ्ने र बैंकमा अधिक तरलता भए पनि राष्ट्र बैंकले रकम खिच्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया