२०८२ फाल्गुन ५ | Feb 17, 2026

बैंकिङ सेवाहरु सहजरुपमा संचालन गर्ने गराउने कार्यमा सहयोग गरिदिन सिबिफिनको अनुरोध

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३०
|
1.2k views

ललितपुर । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले नवगठित सरकारसँग हातेमालो गर्दै शान्त, सुशासित एवं समुन्नत राष्ट्र निर्माणको अभियानमा एकाकार भई अगाडी बढ्न तत्पर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

परिसंघले एक प्रेस बिज्ञप्ति मार्फत “जेन–जी“ अभियन्ताहरूको आव्हानमा भएको आन्दोलनको क्रममा उत्पन्न कठिन एवं भयावह अवस्थाले अन्तरिम सरकारको गठनसँगै शान्तिपूर्ण अवतरण पाएको र मुलुक इतिहासकै कहालीलाग्दो क्षणबाट विस्तारै सामान्य अवस्थातर्फ उन्मुख भइरहेको उल्लेख गरेको छ ।


संघले आन्दोलनको क्रममा देखिएका दुखद् एवं त्रासदीपूर्ण घटनामा अमूल्य जीवन अर्पण गरेका होनहार युवाहरुप्रति उच्च सम्मानसहित कर्तव्य पालनाका क्रममा जीवन गुमाएका सुरक्षाकर्मी तथा दिवंगत सम्पूर्णमा श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, आफ्ना सन्ततीको वियोगमा शोकाकुल परिवारजनामा गहिरो समवेदना गर्दै सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना पनि गरेको छ ।


आन्दोलनको क्रममा भएको मानवीय र निहित स्वार्थप्रेरित आक्रमणबाट देशैभरी सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपुरणीय क्षतिप्रति बैंक सबिफिनले स्तब्ध भएको भन्दै गहिरो दुःख प्रकट गरेको छ । अकल्पनीय आक्रमण र क्षतिबाट विक्षिप्त बनेको निजी क्षेत्रलाई शान्ति र सुरक्षाको प्रत्याभूतिसहित मुलुकभित्रै लगानी गर्ने, पेशा, व्यवसाय एवं रोजगार गर्न पाउने उपयुक्त नीति एवं वातावरणको सृजना गरी समग्र निजी क्षेत्रमा आशा, उर्जा एवं उत्साह भर्नका लागि नवगठित नेपाल सरकारले कुनै कसर बाँकी नराख्नेमा सिबिफिन विश्वस्त रहेको उल्लेख छ ।

साथै, गलत मनसायसहित बैंक तथा वित्तीय संस्थामा क्षति पु¥याउने तत्वहरुसँग सजग हुँदै अर्थतन्त्रको आधारस्तम्भ र दिगो आर्थिक विकासको संवाहककोरुपमा रहेका सबल र जिम्मेवार बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना बैंकिङ सेवाहरु सहजरुपमा संचालन गर्ने गराउने कार्यमा सहयोग गरिदिन समेत सिबिफिनले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया