२०८२ फाल्गुन ५ | Feb 17, 2026

भक्तपुरको एक गाई फार्ममा बिहीबार एक जना युवकको हत्या

भक्तपुरको एक गाई फार्ममा बिहीबार एक जना युवकको हत्या भयो। हत्या भएका युवक ओखलढुंगाका ईश्वर राई हुन्। 

उनको हत्या अभियोगमा प्रहरीले उनका साथी आशिष खुलाललाई पक्राउ गरेको छ। 

भक्तपुर सूर्यविनायक-८ सिपाडोलका २० वर्षीय आशिष र मनोहरास्थित सुकुम्बासी बस्तीका ईश्वरबीच गएको चैत १५ गते मात्रै चिनजान भएको थियो।

त्यही दिनदेखि आशिष र ईश्वरबीच मोबाइलमा कुरा हुन थाल्यो।

‘सिडिआर (कल रेकर्ड) आइनसकेकाले के-के कुराकानी हुन्थ्यो भन्ने खुल्न बाँकी छ,’ महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले भनिन्।

आशिषको घर कागेश्वरी-मनोहरा नगरपालिका-८ गोठाटार हो। आशिषका बुवा सिपाडोलस्थित मुलबाटोमा गाई फार्म चलाउँछन्। कविराज बस्नेतको जग्गा भाडामा लिएर उनले गाई फार्मको टहरा बनाएका छन्।

एक महिनाअघि आशिष सुकुम्बासी बस्ती पुगेका थिए। उनी र त्यहाँका केही युवाबीच वादविवाद भएको थियो। यस क्रममा सुकुम्बासी बस्तीका युवाले आशिषलाई कुटपिट गरेको पनि खुलेको छ।

त्यसको एक सातापछि आशिष र सुकुम्बासी बस्तीका केही युवाबीच काँडाघारीमा भेट भयो।

‘रिस फेर्न उनले काँडाघारीमा ती युवामध्ये केहीलाई हेल्मेट प्रहार गरेका रहेछन्,’ एसपी थापाले भनिन्।

आशिष सुकुम्बासी बस्ती जान भने छोडेका थिएनन्, यसको कारण केही थियो भन्नेतर्फ अहिले प्रहरी अनुसन्धान सोझिएको छ।

आशिषको कोठाबाट लागुऔषधका केही ट्याबलेट भेटिएकाले पनि उनको गलत बाटोमा हिँडेको प्रहरीको प्रारम्भिक बुझाइ छ।

आशिष लागुऔषध सेवन तथा खोजीका लागि सुकुम्बासी बस्ती जान्थे भन्ने कि भन्ने शंका छ।

नम्बर साटासाट भएपछि  आशिष र ईश्वरबीच बाक्लो कुराकानी हुने गरेको थियो।

हिरासतमा रहेका खुलालले बढीजसो ईश्वरले नै फोन गर्ने गरेको बयान दिएका छन्।

‘ईश्वरले यता आऊ, उता आऊ, भेटौं भनेर बाक्लै फोन गर्ने गरेको आशिषले बताउने गरेका छन्,’ एसपी थापाले भनिन्।

आशिष भने ईश्वरले भनेको ठाउँमा जाँदा रहेनछन्। उनलाई लागेको रहेछ- मलाई पिट्न बोलाएको पो हो कि!

बिहीबार बिहान ९ बजे पनि ईश्वरले नै आशिषलाई फोन गरेका थिए।

फोन गरेर ईश्वरले आशिषलाई सुकुम्बासी बस्तीमा भेट्न बोलाएका थिए। तर, आशिषले इन्कार गरे।

धेरै नै जोड गरेपछि ‘बरू यतै आउ न त’ भनेर गाई फार्ममा बोलाए।

‘ईश्वर गाई फार्ममा पुगेपछि टहराभित्र पसे, आशिषले चुकुल लगाए र उनीहरूबीच कुराकानी हुँदै थियो,’ आशिषको भनाइ उद्धृत गर्दै एसपी थापाले भनिन्।

अपराह्न ४ बज्दै थियो। उनीहरूबीच कुराकानीकै क्रममा अचानक झ्यालबाहिर युनिश योञ्जन र सुनिल बल देखिए।

उनीहरूलाई देखेपछि आशिषले ठानेछन्- मलाई कुट्न ईश्वरले केटाहरू लिएर आएको रहेछ।

पक्राउ परेका आशिष खुलाल।

यही आवेगमा आशिषले कोठामा रहेको खुकुरी निकालेर ईश्वरलाई हाने। उनले ईश्वरको टाउको र घाँटीमा खुकुरी प्रहार गरेका थिए।

ईश्वरका बुवाआमा यहाँ छैनन्। उनको घर ओखलढुंगा हो।

‘आफन्तलाई बोलाएका छौं, उहाँहरू आएपछि थप बुझ्न सकिने छ,’ उनले भनिन्।

ईश्वर सुकुम्बासी बस्तीमा को सँग बस्थे भन्नेबारे अनुसन्धान भइरहेको थापाले बताइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया