२०८२ भाद्र १५ | Aug 31, 2025

भाटभटेनी सहित ७ वटा गीतसङ्गीतका प्रयोगकर्ता रोयल्टीको दायरामा आउन सहमत

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १
|
51 views

ललितपुर ।  गीत सङ्गीतको सार्वजनिक प्रयोग गरेबापत कानुनले तोके बमोजिम रोयल्टी तिर्नु पर्ने व्यवस्थालाई बेवास्ता गरी स्रष्टाको प्रतिलिपि अधिकार हननका विरुद्ध नेपालमा पहिलो पटक इन्द्रेणी बैंक्वेट प्रालि र लर्ड अफ द ड्रिङ्क्स (एलओडी) विरुद्ध रोयल्टीसम्बन्धी मुद्दा दर्ता भएको भएको केही समय पछि  गीत सङ्गीतको सार्वजनिक प्रयोग गर्ने अन्य ७ वटा प्रयोगकर्ताहरू रोयल्टी तिर्न सहमत भएका छन् ।  गैरीधारा स्थित कर्मा ग्रुपको Aqua by Karma pool Bar नक्सालको रोड हाउस क्याफे,कालो पुलको ओम तन्दुरी होटेल एण्ड रेष्टुरेन्ट कालो पुलकै बेष्ट भेन्यु प्रालि मैतीदेवीको जेरी मिल फास्टफूड क्याफे नक्सालको भाटभटेनी सुपर मार्केट र सम होयर क्याफे विरुद्ध प्रहरीमा परेको उजुरीका सम्बन्धमा भएको छलफलमा उनीहरू रोयल्टी तिर्न सहमत भएका हुन् ।  प्रहरी वृत्त मालिगाउँमा भएको छलफल पछि गीत सङ्गीतको सार्वजनिक प्रयोग गरे बापत प्रतिलिपि अधिकार ऐन अनुसार स्रष्टालाई दिनुपर्ने रोयल्टी दिन र अनुमति लिन सहमत भएका हुन् । 

ती सात ब्यबसायिक संस्थाका प्रतिनिधिहरू, सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालका अध्यक्ष सुरेश चन्द्र अधिकारी, सदस्य,प्रमोद ढुङ्गाना,संस्थाकी कानून अधिकृत सपना घर्तिमगर, प्रहरी वृत्त मालिगाँउको प्रहरी प्रमुख र  , प्रहरी निरीक्षकको रोहबरमा सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालका तर्फबाट अख्तियार प्राप्त जाहेरीवाला जयराम गौतमले दिएको जाहेरीका सम्बन्धमा छलफल  भएको थियो । छलफलमा प्रयोगकर्ताहरूले गीतसङ्गीतको सार्वजनिक प्रयोग गर्न अनुमति लिने र रोयल्टी तिर्ने प्रतिबद्धता जनाएका हुन् । 

यसअघि सङ्गीत रोयल्टी सङ्कलन समाजका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले प्रतिलिपि अधिकार अधिकार ऐन २०५९ र नियमावली २०६१का प्रावधानहरू उल्लङ्घनका विरुद्ध इन्द्रेणी बैंक्वेट प्रालि र लर्ड अफ द ड्रिङ्क्स (एलओडी) विरुद्ध दर्ता गरेको मुद्दा अदालतमा विचाराधीन छ ।  नेपालको संविधान, २०७२ को भाग ३ मा मौलिक हक र कर्तव्य अन्तर्गतको धारा २५ मा सम्पत्तिको हकमा अन्य सम्पत्ति सरह बौद्धिक सम्पत्तिको हक प्रदान गरिएको छ ।

गीत–सङ्गीत (बौद्धिक सम्पत्ति)को मालिक रचयिता स्रष्टालाई तिर्ने कृतिश्वलाई रोयल्टी भनिन्छ । रोयल्टी यस्तो एउटा अनिवार्य तिर्नु पर्ने कृतिश्व हो,जसलाई सार्वजनिक प्रयोगकर्ताले प्रयोग गरे पिच्छे तिर्नुपर्ने हुन्छ । रोयल्टी नतिरी गीत–सङ्गीत (बौद्धिक सम्पत्ति) को प्रयोग गर्नु कानुनी अपराध हो । जसको लागि प्रतिलिपि अधिकार ऐन,२०५९ मा दण्ड सजायको व्यवस्था गरिएको छ । नेपाल बौद्धिक सम्पत्तिको संरक्षण गर्न बनेको संयुक्त राष्ट्र सङ्घको वर्न महासन्धि र रोम महासन्धिको पक्षधर हस्ताक्षरकर्ता पनि हो ।

समाजको १४औँ वार्षिक साधारण सभाले प्रतिलिपि अधिकार नियमावली २०६१ को नियम १० ‘ग’ अनुसार देशभर सङ्गीत रोयल्टी सङ्कलन गर्न शिव म्युजिकलाई एजेन्सी नियुक्त गरेको थियो । शिव म्युजिकका कार्यकारी निर्देशक टीका राई शिवले एमआरसीएसएनको मापदण्ड २०८० अनुसार काम गरिरहेको बताएका छन् । यो मापदण्डले रेडियो, टेलिभिजन, होटेल, लज, रिसोर्ट, क्यासिनो, सार्वजनिक यातायात, डिपार्टमेन्टल स्टोर, पार्टी हल, पार्टी प्यालेस जस्ता विभिन्न क्षेत्रबाट रोयल्टी सङ्कलनको पहल गरी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement