ललितपुर। विगतका वर्षहरुको तुलनामा यस वर्ष भारतमा एक हप्ता अघि नै मनसुन प्रवेश गरेको छ । यसैलाई आधार मान्ने हो भने नेपालमा पनि यस वर्ष छिट्टै मनसुन भित्रिन सक्ने र सामान्यभन्दा बढी पानी पर्न सक्ने अनुमान मौसमविदहरुले गरेका छन् ।
सामान्यतया प्रत्येक वर्ष भारतमा जुन १ देखि मनसुन सक्रिय हुने गरेको तथ्यांक भए पनि यस वर्ष मे २४ देखि नै मनसुन भित्रिएको मौसम विदहरुले बताएका छन् । त्यस्तै नेपालमा सामान्यतया जुन १३ देखि मनसुन सक्रिय हुने अर्थात् मनसुन भित्रिने गर्दछ । तर यस वर्ष भने भारतमा एक हप्ता अगाडि नै मनसुन भित्रिएकोले नेपालमा पनि अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष छिट्टै मनसुन सक्रिय हुने अनुमान मौसमविदहरुले गरेका छन् ।
सामान्यतया नेपालमा जुन १३ देखि मनसुन भित्रिएर अक्टुबर २ मा बाहिरिने गर्दछ । मनसुन भित्रिने र बाहिरिने गति सामान्य भएमा नेपालमा ११२ दिनसम्म मनसुन सक्रिय रहन्छ ।
यस्तै, भारतको मौसम विभाग पूर्वानुमान महाशाखाले यसवर्षको मनसुन भारतको केरलाबाट प्रवेश गरी राजधानी नयाँदिल्लीसहितका विभिन्न ठाउँमा भारी वर्षा भएको जनाएको छ । भारतको मौसम विभागले २४–२६ मेसम्म भारी वर्षाको पूर्वानुमान गर्दै सतर्कता अपनाउन समेत भनेको छ । भारतीय मिडियाहरुका अनुसार भारतमा १६ वर्षयताकै छिटो मनसुन भित्रिएको छ ।
यस वर्ष नेपालमा औसत भन्दा बढी पानी पर्ने भनिए पनि अहिले भने मनसुन भित्रिनसकेको नेपालका मौसमविदहरुले बताएका छन् । सामान्यतया भारतमा मनसुन भित्रिएको १० देखि १५ दिनभित्र नेपालमा मनसुन भित्रिने गरेको मौसमविदहरु बताउँछन् । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष नेपालमा मनसुन छिट्टै भित्रिने सम्भावना बढी छ ।
मनसुन सुरु हुन बंगालको खाडी हुँदै नेपाल आउने मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्नुपर्दछ । तर अहिले पनि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ । यसको प्रभावले नेपालका विभिन्न स्थानमा केही दिनयता दिनहुँ पानी परिरहेको छ । आज पनि काठमाडौंउपत्यका सहितका केही जिल्लाहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले ।
त्यसैगरी यस वर्ष नेपालमा औसतभन्दा बढी वर्षा र गर्मी हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । बढी पानी पर्दा जनधनको क्षति हुने जोखिम पनि बढी हुने भएकाले विभागले पूर्वसतर्कता अपनाउन समेत सुझाएको छ ।
आज दिउँसो पनि नेपालका विभिन्न भूभागमा चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।