काठमाडौं । कश्मीरको पहलगाममा १५ दिन पहिले २६ जनाको ज्यान लिनेगरी भएको आतङ्ककारी हमलाको बदलामा भारतले गए राति पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरका केही ‘अपरेसन सिन्दुर’ नामक ‘जबाफी कारबाहीमा’ मर्नेहरूको सङ्ख्या यो खवर तयार पार्दा सम्म २६ पुगेको छ भने ४६ जना घाइते भएका छन् ।
भारतले सैन्य कारबाही सुरुवात गरेर पाकिस्तान र पाकिस्तान–प्रशासित कश्मीरका विभिन्न स्थानहरूलाई लक्षित गरेपछि विश्वभर चिन्ता व्यक्त गरिएको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेको उनका प्रवक्ता स्टेफन दुजारिकले बताएका छन् । उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गरेका छन् ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निकै दुःखद भएको यो चाँडै सकियोस भन्ने प्रतिकृया दिएका छन् यस्तै विदेशमन्त्री मार्को रुबियोले पनि भारत र पाकिस्तानबीचको अवस्थालाई नजिकबाट नियालिरहेको भन्दै संकट चाँडै टुंगोमा पुगोस् भन्ने अमरिकाकोे आशा रहेको उल्लेख गरेका छन् ।
यस्तै चीनले पनि भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण भएको जनाएको छ चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले अहिलेको परिस्थितिप्रति चिन्तित रहेको उल्लेख गरेकी छन् । चीनले दुवै देशलाई शान्ति र स्थिरतालाई प्राथमिकतामा राख्न, संयमता अपनाउन र परिस्थिति झनै जटिल हुने कुनै पनि कठिन कदम नचाल्न आग्रह गरेको छ । यता इजरायलले भने भारतको कदमको समर्थन गरेको छ । भारतका लागि इजरायलका राजदूत रेउवेन अजारले सामाजिक सञ्जाल लेख्दै भारतको कदमको समर्थन गरेका छन भने टर्कीले पाकिस्तानको सपोर्ट गरेको छ । विदेशमन्त्री हकान फिदानले पाकिस्तानका उपप्रधानमन्त्री मोहम्मद इशाक डारलाई फोन गरेर ऐक्यबद्धता जाहेर गरेका हुन् ।
संयुक्त अरब इमिरेट (यूएई) ले भने भारत र पाकिस्तान दुवै देशलाई चेतावनी दिँदै संयमता अपनाउन भनेको छ । यूएईका उपप्रधानमन्त्री तथा विदेश मामिलाका मन्त्री शेख अब्दुल्ला बिन जायद अल नाहयानले दुवै पक्षलाई संयम अपनाउन, तनाव घटाउन र राजनीतिक संवादमार्फत विवाद समाधान गर्न आग्रह गरेका छन् ।
पहलगाम आतङ्कलगत्तै भारतले त्यसमा पाकिस्तानको हात रहेको र त्यसको समुचित जबाफ दिने बताएको थियो । पाकिस्तानले भने पहलगाम आतङ्कमा आफ्नो संलग्नता अस्वीकार गर्दै घटनाको निष्पक्ष जाँचका लागि आग्रह गरेको थियो । पाकिस्तानले आफ्नो भूमिमा रहेका आतंकवादी समूहविरुद्ध कारबाही गर्न असफल भएकाले गएराति आफूले सैन्य कारबाही गरेको भारतले बताएको छ ।
भारतीय सेनाले बुधबार पत्रकार सम्मेलन गर्दै पाकिस्तानमा रहेको आतंकवादीहरूको संरचनाविरुद्ध आक्रमण लक्षित गरिएको बताएको छ । भारतीय हमलाको प्रतिक्रिया दिंदै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको आक्रमणको निर्णायक जवाफ दिन पाकिस्तानसँग पूर्ण अधिकार रहेको भन्दै प्रतिकारमा उत्रने संकेत दिए पछि बिश्वभर चिन्ता बढदै गएको छ ।
यता नेपालमा बुधबार दिउँसो बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले भारत पकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै तीनै तहका सुरक्षा निकायलाई सीमामा निगरानी बढाउन निर्देशन दिने निर्णय गरेको छ । यस्तै आज बसेको प्रतिनिधि सभाको बैठकमा भारत पाकिस्तान युद्धको जोखिम र नेपालले त्यसको दुष्परिणाम न्यून गर्न बेलैमा सजग हुनुपर्ने विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद एनपी साउदले भारत र पाकिस्तानबिचको पछिल्लो तनावलाई मध्यनजर गरेर सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने बताए ।
छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको प्रति उनले असन्तोष व्यक्त गरे । यस्तै सांसदहरु सञ्जय गौतम ,सर्वेन्द्रनाथ शुक्ल र अमरेशकुमार सिंहले पनि भारत पाकिस्तानले तनावले नेपाललाई पार्न सक्ने प्रभावबारे चनाखो रहन नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए । कांग्रेस सांसद गौतमले भारत पाकिस्तान तनावले पार्ने प्रभावबारे समयमै गम्भीर बन्न सरकारलाई सुझाव दिए । सांसद शुक्लले नेपाल असंलग्न राष्ट्रको रूपमा रहँदै आएकोले आतङ्कवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता के हो खुलाउन आवश्यक रहेको बताए ।
स्वतन्त्र सांसद सिंहले भारत पाकिस्तान तनावको प्रभाव नेपाल भारतको खुला सीमाका कारण पर्ने भन्दै त्यसबारे बेलैमा ध्यान पु¥याउन सरकारसँग माग गरे ।
भारतले ‘अप्रेसन सिंदूर’ सुरु गरेपछि विभिन्न क्षेत्रमा तेस्को असर परेको छ । भारतीय एयरलाइन्सहरूले ट्राभल एडभाइजरी जारी गरेका छन् । यसका कारण धेरै उडानहरू रद्द भएका छन् र केही प्रभावित भएका छन् । पाकिस्तानको पञ्जाब प्रदेशमा विद्यालयहरू बन्द गरिएका छन् । विश्वविद्यालय र कलेजहरूमा हुने परीक्षा पनि स्थगित हुने भएका छन् ।
पाकिस्तानको विदेश मन्त्रालयले भारतीय दूतावासका उच्च कूटनीतिज्ञलाई बोलाएर हवाई आक्रमणको कडा विरोध जनाएको छ । गए राति भारतले गरेको हवाई आक्रमणका सम्बन्धमा पाकिस्तानको विदेश मन्त्रालयले भारतीय कूटनीतिक मिसन प्रमुख (चार्ज डी अफेयर्स) लार्ई बोलाएर कडा विरोध जनाएको हो । भारतको यो सैन्य कारबाहीले क्षेत्रीय शान्तिलाई गम्भीर असर पु¥याएको विदेश मन्त्रालयले चेतावनी दिएको छ । यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न क्रोएसिया, नेदरल्यान्ड्स र नर्वे भ्रमण स्थगित गरेका छन् ।