काठमाडौँ । आज बसेको प्रतिनिधिसभाको बैठकमा अधिकांश सांसदहरुले भारत र पाकिस्तानबीच भइरहेको बेमेल र उत्पन्न तनावले नेपाललाई पर्न सक्ने असरका बारमा बेलैमा सचेत रहनुपर्नेमा जोड दिएका छन् ।
बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारण भारत र पाकिस्तानबीच युद्ध सुरु भएको भन्दै यसले नेपाललाई पार्ने अल्पकालीन र दीर्घकालीन असरहरुका बारेमा नेपाल सरकारले समयमै सचेत भएर सावधानीपूर्वक छलफल अघि बढाउन अनुरोध गरे ।
उनले दक्षिणपूर्वी एसियाली मुलुकमा द्वन्द्व चर्किएको र यतिबेला राष्ट्रिय राजनीतिक दलको एकता जरुरी भएको औँल्याए । साथै संविधान संशोधन, सङ्घीयताको सवलीकरण, संस्कृतिको संरक्षण र प्रवर्द्धनलगायत विषयमा सबै दलहरूबीच न्यूनतम सहमति गरी आमजनतालाई आशा जगाउनुपर्नेमा समेत उनले जोड दिए । उनले राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गली जनावारको त्रास बढिरहेको, पछिल्लो तीन महिनामा बर्दियामा चितुवाको आतङ्कबाट दुई जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका भन्दै जङ्गली जनावरबाट नागरिकलाई सुरक्षित गर्नेगरी वातावरण बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।