ललितपुर । भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को तथ्यांकलाई उद्घृत गर्दै भारतको नीति आयोगले यस्तो जानकारी दिएको हो ।
भारतको अर्थतन्त्र ४ ट्रिलियन अमेरिकी डलर नाघेको जनाइएको छ । यसअनुसार अब विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र क्रमशः अमेरिका, चीन र जर्मनीको रहेको छ । चौथोमा भारत आएको छ । यसअघि चौथो स्थानमा रहेको जापान पाँचौं स्थानमा झरेको छ ।
आईएमएफको तथ्यांक अनुसार अमेरिकाको अर्थतन्त्र अहिले ३०.५०७ ट्रिलियन अमेरिकी डलरको छ । त्यस्तै, चीनको १९.२३१ ट्रिलियन रहँदा जर्मनीको ४.७४४ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र पुगेको छ । भारतको ४.१८७ ट्रिलियन डलर रहँदा जापानको ४.१८६ ट्रिलियन डलरको अर्थतन्त्र रहेको छ । त्यसपछि क्रमशः बेलायत, फ्रान्स र इटाली रहेका छन् ।