काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचार नयुनीकरण र अन्त्य गर्नमा लागिपरेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले “देशमा भ्रष्टाचारको न्युनीकरण र अन्त्य, सुशासन, जनतालाई सेवा कसरी प्रवाह गर्न सकिन्छ भन्नेमा छौं,’ “हाम्रो देशको विकासको जिम्मा हामीले नै लिने हो,अरुले गर्दैन’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले “केही गर्न सक्छौँ र गर्नुपर्छ” भन्ने सङ्कल्प प्रकट भएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्र विकासका लागि आत्मविश्वासका साथ अघि बढेकाले सरकार त्यसलाई सघाउन तयार रहेको स्पष्ट गर्नुभयो ।
“सरकार र निजी क्षेत्रको सहकार्य नमुनाका रूपमा अघि बढिरहेको छ । हामी सबै मिलेर हाम्रो देश बनाउनुपर्छ । तीव्र गतिमा विकास गर्नुपर्छ । हामीले स्वदेशी वस्तुको प्रयोगलाई बढाएर लाँदा गर्व महसुस गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “निजी क्षेत्रले सरकारलाई प्रेरित गरोस् । यसका लागि कुनै आन्दोलन गरिरहनुपर्ने छैन । यो सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको हो ।”
प्रधानमन्त्री ओलीले जनतालाई सेवा र सुविधा दिन विद्यमान प्रणाली स्थापना भएको र अहिलेको सरकारले यस प्रणालीलाई बलियो बनाउँदै ठुला उत्पादन र उत्पादकत्व बढाउन अग्रसर रहेको जनाउनुभयो ।
‘सरकार र सरकारका नीतिहरू छिनछिनमा अनप्रेडिक्टेबल ढंगले बदलिने, एउटा सरकारको ठाउँमा अर्को तुरुन्तै बदलिने, अघिल्लो सरकारले लयाएको राम्रो कुरा पनि उसले उच्चारण समेत गर्न हुँदैन भनेजस्तो गर्ने हुँदैन,’ भन्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रले दिएका सुझावका आधारमा वर्तमान सरकारले नीति र कानुन बनाउँदै आएको पनि स्पष्ट गर्नुभयो ।
साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन कार्यक्रमार्फत आज बढी कर तिर्ने क्षेत्रगत कम्पनी र महासङ्घका उत्कृष्ट प्रदेश र जिल्ला समितिलाई सम्मान गरिएको थियो ।