काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गत साता मखनटोलको एक घरमा लागेको आगलागीको घटना बारे छानबिन गर्न निर्देशन दिएकी छिन्। उनले यथाशिघ्र छानबिन समिति गठन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएकी हुन्।
डंगोलले गत बुधबार काठमाडौँ महानगरपालिकाको वडा–२४ मखनटोलमा भएको आगलागीको घटना छानबिन गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिएकी छन् । उनले गुरागाईँलाई प्रभावकारी छानबिन समिति बनाएर १० दिनभित्र रिपोर्ट बुझाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
बुधबार काठमाडौंको मखनटोलमा आगलागी हुँदा चार वटा घरमा क्षति पुगेको थियो भने एक जना वृद्धाको उक्त आगलागीमै जलेर ज्यान गएको थियो । आगलागीबाट दयाराम श्रेष्ठको चारतले घर पूर्णरुपमा क्षति भएको थियो भने सँगैको रुकेश श्रेष्ठको पाँच तले घर र त्योसँगै रहेको कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति भएको थियो । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख डंगोलले आगलागी पश्चात त्यहाँ पुगेर स्थगत अनुगमन गरेकी थिइन् ।
बुधबारको आगलागी पछि म आफैँ अनुगमनमा गएर त्यहाँको वस्तुस्थिति बुझेकी थिएँ,’ डंगोलले भनिन्, ‘काठमाडौँ महानगरपालिकाको दमकल भएको ठाउँबाट केही मिनेटकै दूरीमा आगलागी हुँदा पनि समयमै नियन्त्रणको प्रयास भएन भन्ने जस्ता गुनासाहरू पनि आएका छन् । यी सबै कुरालाई ध्यानमा राखेर तुरुन्तै छानबिन समिति बनाएर त्यो समितिलाई १० दिनको म्याद भित्र रिपोर्ट बुझाउन लगाउनु भनेर मैले प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छु ।’
सुविधासम्पन्न महानगरभित्र दमकलकको नजिकमै यस्तो घटना हुनुले यस विषयमा छानबिन गरिनु आवश्यक देखिन्छ ।