ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचारबिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन् । एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकताका लागि एकता नभई सही विचारमा अरूलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिए ।
“सही कुरालाई पनि विरोध गरेर बखेडा निकाल्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा इतिहासदेखि नै देखा पर्दै आए । खास वैचारिक भिन्नता नभए पनि व्यक्तिगत स्वार्थका आधारमा दुई लाइनको कुस्ती चलाइयो । पार्टी विभाजन गरेर नामका लागि एकीकृत राख्ने प्रवृत्ति पनि छ”, अध्यक्ष ओलीले भने, “पार्टी प्रवृत्ति भने सही धारमै जान खोज्दै आयो । मदन भण्डारीको अगुवाइमा ल्याइएको जनताको बहुदलीय जनवादको विचारले कम्युनिष्टहरू निरङ्कुश हुन्छन् भन्ने हामीमाथिको आरोपलाई खण्डन गर्यो । यो विचार राजनीतिक लोकतन्त्रका लागि मात्र होइन आर्थिक र सामाजिक तथा मानव अधिकारका प्रश्नमा समेत राष्ट्रिय नीतिका रूपमा स्थापित भइसकेको छ । यसै जगमा हामीले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी लाग्नुपर्नेछ ।”
प्रधानमन्त्री ओलीले आफूहरूले शक्तिका स्रोत जनता नै हुन् भन्ने मान्यताका साथ जनताको शासन कायम गर्न खोजिएको उल्लेख गर्दै देशभक्ति, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको मार्गलाई आफूहरूले कहिल्यै नछोडेको स्पष्ट गरे । आफूहरूको नेतृत्वमा सरकार रहेकाले राजतन्त्र फर्काउने प्रतिगमनको प्रयास असम्भव र अस्वीकार्य भएको पनि उनको भनाइ थियो । विगतमा आफूले सरकारको नेतृत्व गर्दा पार्टीभित्रकै विग्रहवादी तत्वका कारण सरकार ढाल्ने र अदालतको आदेशबाट सरकार गठन गराउने गलत अभ्यास भएको उनकोे टिप्पणी थियो । जननेता भण्डारी कम्युनिष्ट आन्दोलनलाई समयानुकूल रूपमका हाँक्ने नीतिकार रणनीतिकार भएको स्मरण गर्दै उनले विश्वमा कम्युनिष्ट आन्दोलन धराशयी हुँदै गएका बेला जबजको वैचारिक अगुवाइमा पार्टीलाई लोकप्रिय र दुई तिहाइको अवस्थासम्म पु¥याएको बताए । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, आश्रित पत्नी माया ज्ञवालीलगायत सहभागी थिए ।