काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका मधेस, लुम्बिनी र कोशी प्रदेशमा अझै पनि कुष्ठरोगीहरुको संख्या उल्लेख्य भएका बताएका छन् । उनले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
विहीबार आयोजित “नेपाल कुष्ठरोग सम्मेलन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपालका मधेश, लुम्बिनी र कोशी प्रदेशमा कुष्ठरोगीको अझै पनि देखिएकाले नेपालबाट यो रोग उन्मूलन नभइसकेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित उक्त कार्यक्रमका बीच बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एकभन्दा तलको सङ्ख्यामा कुष्ठरोगी रहनुलाई सफलताको सूचकका रूपमा लिन सकिने भए पनि रोग पूर्ण उन्मूलन भने भइनसकेको बताएका छन् ।
उनले उनले कुष्ठरोगको निवारण गरिछाड्ने प्रयासलाई प्रभावकारी ढङ्गले अघि बढाउन जरुरी भएको धारणा व्यक्त गरे । पहिला–पहिला पाचनप्रणाली राम्रो होस् भनेर आशीर्वाद दिइने गरेको प्रसङ्ग उल्लेख गर्दै आहारविहार र हेरचाहलाई विशेष ध्यान दिइ जीवन पद्धतिलाई सही ढङ्गबाट अघि बढाउने हो भने स्वस्थ्य रहन सकिने धारणा व्यक्त गरे ।
कुष्ठ रोगराई अभिशापको रुपमा लिने गरेको प्रशंगलाई जोड्दै प्रधानमन्त्री ओलीले आफूलाई पञ्चायतकालमा गोलघरमा चिसो भूइँमा राखेर यातना दिइएको सम्झँदै त्यही कारण आफ्नो मिर्गौला ‘फेल’ भएको सन्दर्भ उल्लेख गरे।
प्रधानमन्त्री ओलीले कुुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए । उनले कुष्ठारोगजस्ता सङ्क्रामक रोग लागिहालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रूपमै सञ्चालन गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारका रोग लुकाउनुहुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठारोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
कुष्ठरोग महारोग नभई आयुर्वेदिक औषधीबाट समेत निको पार्न सकिने भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने भन्दै प्रधानमन्त्रीले दैनिक आहारविहार लगायतका विषयमा ध्यान दिन सक्नुपर्ने बताए । उनले सिंगै नेपाललाई निरोगी नेपाल बनाउन सरकारले चाहेको भन्दै रोग लाग्ने परिस्थिति नआओस् भनेर ध्यान दिनेपर्ने समेत बताएका छन् ।