ललितपुर । साउदी अरबको मक्कामा हजका लागि प्रस्थान गर्दै गरेका नेपाली मुस्लिम हज यात्रीहरुलाई खानेपानीमन्त्री प्रदीप यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गरेका छन् । मक्कामा हज (विशेष प्रकारको नमाजर प्राथना) गर्न नेपाली मुस्लिम दाजुभाई दिदीबहिनी साउदी अरब पुग्ने भएकाले आफुले विमानस्थलमै पुगेर उनीहरुलाई बिदाई गरेको मन्त्री यादवले बताएका छन् ।
मन्त्री यादवले भने, “हजका लागि जाने ‘हाजी’ हरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर मैले फुलमाला तथा खादा लगाई बिदाइ गरेको छु । उनीहरु सबैको यात्रा धर्म, आस्था र मानवता प्रति प्रेरणादायी बन्न सकोस् भन्ने कामना गर्दछु ।”
मन्त्री यादव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर फुलमाला, खादा लगाई बिदाई गर्नुका साथै हज यात्रुहरूलाई सफल यात्रा, धार्मिक आस्था र मानवताको प्रेरणादायी सन्देश लिएर फर्किन शुभकामना समेत व्यक्त गरेका थिए ।
नेपालबाट पनि सन् २०२५ को हजका लागि एक हजार १ सय ७१ जना जाने जनाइएको छ । पहिलो चरणको लागि यही जेठ ३ गते ५५ जना नेपाली हज यात्रु साउदी अरेबिया गएका जनाइएको छ ।
देशैभरि छरिएर रहेका मुस्लिम नेपालीहरुलाई जिल्लास्तरीय हज कमिटीले मक्का जानेहरुलाई सिफारिस गरेर पठाएपछि केन्द्रिय हज कमिटीले कोटाअनुसार यात्राको प्रबन्ध मिलाउने व्यवस्था गर्छ । मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठुलो उपलब्धिको रुपमा लिने गरिन्छ । विश्वभरका मुस्लिमहरु आफ्नो जीवनमा एकपल्ट मक्कामा गएर हज गर्ने चाहना राख्दछन् ।
साउदी अरेबियामा हरेक वर्षको अक्टोबर र नोभेम्बर महिनाको बीचमा बिशेष दिन पारेर हज गर्ने गरिन्छ । हजका लागि बिश्वभरिबाट मुस्लिमहरु मक्का पुग्ने गर्दछन् ।