२०८२ मंसिर १९ | Dec 05, 2025

मल्लकालीन ङालाकेगु जात्रा भक्तपुरमा सुरु

BusinessPati बिजनेस पाटी
|
२०८० माघ ४
|
204 views

भक्तपुर ०४ माघ २०८०।

मल्लकालीन नवदुर्गा गणको ङालाकेगु जात्रा बुधबारदेखि भक्तपुर –९ सूर्यमढीबाट सुरु भएको छ । नवदुर्गा गणको नाच ङालाकेगु जात्रा प्रत्येक दिन नगरपालिका क्षेत्रका फरकफरक २१ टोलमा प्रदर्शन गरिने देवगणका सदस्य नारायणमान बनमालाकाले जानकारी दिए ।
तान्त्रिक एवं दैवी शक्तिका आधारमा प्रदर्शन गरिने यो जात्रा भक्तपुरको दत्तात्रय, क्वाठण्डौँ, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँ, टौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेलगायतका फरकफरक दिनमा टोलटोलमा प्रदर्शन गरिन्छ ।

उनका अनुसार नवदुर्गा नाचमा १३ मकुन्डो रहने र मकुन्डो लगाएर १२ देवगणले नवदुर्गा नाच नाच्ने यो परम्परा धान्न नवदुर्गाका १९ देवगण रहने गर्दछन् । यसमा भैरव, महाकाली, बाराही, गणेश, बह्मयणी, कुमारी, महेश्वरी, भद्रकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रुपमा देवगणले नाच्ने गर्दछन् ।

परम्परागत वेशभूषामा बाजाको तालमा देवताका प्रतीकका रुपमा देवगणले नाङ्गो खुट्टाले नै सो नाच प्रदर्शन गर्ने गर्दछन् । जात्रामा नाचका लागि आर्थिकलगायतका विभिन्न समस्या रहेकाले सहयोग हुनुपर्ने माग देवगणले गरेका छन् । स्थानीय नेपाल भाषामा ङालाकेगु भनिने मल्लकालीन प्रख्यात नवर्दुगा नाचको थालनी भक्तपुरका राजा भुवन मल्ल (इ सं १५०५देखि १५१९)ले प्रचलनमा ल्याएको इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए ।

उनले नेपाल संवत् ६३३ (इ सं १५१३) मा भक्तपुर राज्यमा अनिकाल परेकाले सहकाल ल्याउन तान्त्रिक विधिअनुसार दैवी शक्तिको आव्हान गरि नवदुर्गा नाचको प्रचलन चलाएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया