ललितपुर। भारतको छत्तीसगढमा महासचिव सहित माओवादीका २६ सहकर्मी मारिएका छन् । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले दिएको जानकारी अनुसार छत्तीसगढको नारायणपुरमा माओवादीहरू विरुद्धको अपरेशनमा २६ जनाको ज्यान गएको छ ।
गृहमन्त्रीले विहीबार सुरक्षा बलसँगको भिडन्तमा २६ माओवादी मारिएको बताएका छन्, जसमा भारतीय कम्युनिष्ट पार्टी माओवादी (सीपीआई–माओवादी) का महासचिव नम्बाला केशव राव उर्फ बसवराजु पनि समावेश छन्।
“नक्सलवाद उन्मूलन गर्ने लडाइँमा ऐतिहासिक उपलब्धि । आज छत्तीसगढको नारायणपुरमा भएको एक कारबाहीमा, हाम्रा सुरक्षा बलहरूले २६ जना खतरनाक माओवादीहरूलाई मारेका छन्, जसमा सीपीआई–माओवादी महासचिव, शीर्ष नेता र नक्सलवादी आन्दोलनका मेरुदण्ड नम्बाला केशव राव उर्फ बसवराजु पनि समावेश छन्,” अमित शाहले ट्विटरमा पोस्ट गरेका छन्। उनले लेखेका छन्, “नक्सलवाद विरुद्धको भारतको लडाईंको तीन दशकमा हाम्रा सेनाले महासचिव स्तरका नेतालाई मारेको यो पहिलो पटक हो । म यो ठूलो सफलताको लागि हाम्रा बहादुर सुरक्षा बल र एजेन्सीहरूको प्रशंसा गर्दछु।”
यसबाहेक, अमित शाहले अपरेशन ब्ल्याक फरेस्ट पूरा भएपछि छत्तीसगढ, तेलंगाना र महाराष्ट्रमा ५४ नक्सलवादी पक्राउ परेको र ८४ नक्सलवादीले आत्मसमर्पण गरेको समेत जानकारी दिएका छन् ।