काठमाडौं । नेपालमा मातृ तथा शिशु मृत्युदर घटाउने मुख्य उद्देश्यले थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालमा सिमेलसन ल्याउ सञ्चालन गरिएको छ । मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ अस्पतालले उक्त ल्याब सञ्चालनमा ल्याएको हो ।
उक्त ल्याबको मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रम कार्यक्रममा बोल्दै मन्त्री पौडेलले “आमा र शिशु दुवैको ज्यान सुरक्षित बनाउन क्षमतावान् जनशक्ति उत्पादनमा ल्याबले महत्त्वपूर्ण योगदान खेल्ने विश्वास व्यक्त गरे ।
ल्याब उद्घाटनका क्रममा मन्त्री पौडेलले मातृ तथा शिशु मृत्युदर घटाउन नेपाल उल्लेखनीय रुपमा सफल भएको उल्लेख गर्दै आगामी बजेटमा सरकारले प्रसूति उपचारलाई प्राथमिकतामा राख्ने गरी नै बजेट विनियोजन गरिने बताए। अस्पतालले प्रतिष्ठानसरह मातृ शिशुका क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकासमा योगदान गरिरहेको भन्दै मन्त्री पौडेलले सातै प्रदेशमा यस्ता केन्द्र विकास अघि बढाइने समेत उनले बताए ।
अस्पतालको कुपन्डोलस्थित भवनमा निर्माण सम्पन्न ल्याबलाई च्यारिटी वन हार्ट वल्र्डवाइडले आर्थिक सहयोग गरेको छ । यसमा नर्सिङ, अनमी, मिडवाइफ तथा चिकित्सकको सिकाइका लागि उपयोग हुने ल्याबमा उपचारका अभ्यास सञ्चालन गर्न सकिन्छ ।
यसैक्रममा अस्पतालका निर्देशक डा. श्री अधिकारीले ल्याबले देशैभरका मातृ शिशु उपचारमा संलग्न जनशक्तिलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न सहजता मिलेको बताए । उनले भने, “यस प्रयोगशालाले चिकित्सकीय सीप सिक्ने तथा सिकाउने र नयाँ सीपमा दक्षता विकास गर्न एवं उच्च सीपयुक्त रही कार्यसम्पादन गर्न मद्दत पुग्ने अपेक्षा छ ।” उनले भने “यो ठूलो कुराजस्तो नदेखिएला,” “तर मातृ शिशुको सुरक्षामा यसले पहिलो महत्त्वपूर्ण सुरुवात गरेको छ ।”