माथिल्लो तामाकोशी जोडिएपछि मुलुक बिजुलीमा आत्मनिर्भर

रमेश लम्साल

काठमाडौं, २१ भदौ २०७८

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ।

सो आयोजनाको ४५६ मेगावाट बिजुली प्रणालीमा जोडिएपछि मुलुकको कूल जडित क्षमता झण्डै दुई हजार मेगावाट पुगेको छ।

गत असार २१ गते आयोजनाको उद्घाटन गरिए पनि पूर्ण क्षमतामा चल्न सकेको थिएन।

उद्घाटनका दिन एकाध मिनेट सात मेगावाटमात्रै बिजुली उत्पादन गरेको आयोजना अनेकन प्राविधिक परीक्षणपछि बल्ल आइतबारदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देश बिजुलीमा आत्मनिर्भर भएको जानकारी दिए।

‘हाम्रो कूल जडित क्षमता दुई हजार मेगावाटको हाराहारीमा पुगेको छ, यसले हामीलाई थप उत्साहित बनाएको छ’, उनले भने। 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २१ गते आयोजनाको उद्घाटन गरे पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन। 

उद्घाटन भएको दुई महिनापछि मात्रै आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गरेको उनले जानकारी दिए।

बिजुली पूर्णरूपमा खपत हुन नसक्दा रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर जाने अवस्था सिर्जना भएको छ। यस्तै दिउँसो समेत २०० देखि ३०० मेगावाटसम्म बिजुली जगेडामा रहेको छ।

जगेडामा रहेको बिजुली भारत निर्यातका लागि पहल भइरहेको भए पनि हालसम्म तार्किक निष्कर्ष निस्कन सकेको छैन। बिजुली खेर जाँदा प्राधिरकणलाई हाल दैनिक चार करोड रूपैयाँ बराबरको घाटा हुने गरेको छ। खेर गएको बिजुलीको खपत बढाउनका लागि भइरहेको पहलसमेत सार्थक हुनसकेको छैन।

प्राधिकरणले माथिल्लो तामाकोशीको ४५६ मेगावाट र भोटेकोशीको ४५ मेगावाट बिजुली भारत निर्यात गर्ने प्रस्ताव गरेको छ। प्राधिकरणको प्रणालीमा हाल निजी क्षेत्रका १०८ आयोजनाले झण्डै ८१५ मेगावाट बिजुली उपलब्ध गराइरहेका छन्।

वर्षायाम भएकाले पनि नदीमा जलस्तर उल्लेख्य रूपमा रहेकाले निजी क्षेत्रका आयोजनाले पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेका छन्।

प्राधिकरणका आफ्नै २२ आयोजनाले बिजुली उत्पादन गरिरहेका छन्। मर्मतका नाममा लामो समयदेखि बन्द रहेको माथिल्लो त्रिशूली थ्री ए को ६० मेगावाट प्रणालीभन्दा बाहिर छ। प्राधिकरणको प्रणालीमा उपलब्ध बिजुलीमध्ये एक हजार ५४२ मेगावाट बराबरको बिजुली मात्रै खपत भइरहेको छ।

आर्थिक वर्ष २०७६/७७ मा कूल एक हजार ३५० मेगावाट बिजुली उत्पादन हुने गरेकामा माथिल्लो तामाकोशी जोडिएपछि क्षमता बढेर एक हजार ९०० मेगावाटभन्दा माथि पुगेको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशी अनेकन हण्डर, ठक्कर व्यहोरेरे तोकिएको समयभन्दा झण्डै पाँच वर्ष ढिला सम्पन्न भएको छ।

नेपाली लगानीमा निर्माण गरिएको आयोजनाको सुरूआती लागत ब्याजबाहेक ३५ अर्ब  रूपैयाँ लाग्ने अनुमान गरिएको थियो।

प्राकृतिक विपद्, सीमा नाकामा भारतको अवरोध, गोरखा भूकम्प, कोरोना कहर, सुरूङमा भएको डिजाइन परिवर्तन तथा कोरोना कहरका कारण लागत बढेर ८४ अर्ब रूपैयाँ  पुगेको छ। त्यसमा ब्याज मात्रै ३२ अर्ब रूपैयाँ रहेको छ। सुरूआती चरणमा १४ अर्ब रूपैयाँ बराबरको ब्याज रहने भनिए पनि त्यो बढेर ३२ अर्ब रूपैयाँ पुगेको हो। ब्याजबाहेकको लागत ५२ अर्ब रूपैयाँ पुगेको छ।

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले हिन्दू तथा बौद्ध परम्पराअनुसार प्रकृतिको पूजा गरेर आयोजना सञ्चालनमा ल्याइएको जानकारी दिए।

आयोजनाबाट उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका–१३ स्थित साँखेमा नवनिर्मित २२०/१३२ केभी क्षमताको न्यून खिम्ती सबस्टेसनमा जोडिएको छ। सो सबस्टेसन हुँदै बिजुली ढल्केवरस्थित नेपाल विद्युत् प्राधिकरणको ४०० केभी क्षमताको सबस्टेसनमा पुर्‍याइएको छ।

वि.सं २०६८ भदौ १७ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्याश गरेका थिए।

आयोजनाको निर्माण सकिन भने ११ वर्ष लाग्यो। मुख्य सुरूङको संरचना निर्माणको डिजाइनमा भएको परिवर्तन, २०७२ सालको गोरखा भूकम्प, सीमा नाकामा भारतले गरेको अवरोध, लामोसाँघु चरीकोट सडक स्तरोन्नतिका कारण निर्माण सामग्री ढुवानीमा भएको अवरोध, हाइड्रोमेकानिकल कार्यका ठेकेदारको कमजोर कार्यसम्पादन तथा कोरोनाका कारण आयोजना निर्माणमा ढिलाइ हुन पुग्यो।

आयोजनाले वार्षिक रूपमा दुई हजार २८१ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्छ। त्यो भनेको कूल दुई अर्ब २८ करोड युनिट बिजुली हो।

आयोजना अर्धजलाशयुक्त प्रकृतिको भएकाले पनि बढी बिजुली माग हुने साँझको समयमा औसतमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ।

सन् १९९९ मा अष्ट्रियन नागरिक डा क्रिश्चियन कल्हरले रोलवालिङ जलविद्युत् आयोजनाका नामबाट पूर्व सम्भाव्यता अध्ययन गरी १२० मेगावाट क्षमता बराबरको बिजुली उत्पादन हुने प्रारम्भिक जानकारी दिएका थिए। अत्यन्तै सस्तो र आकर्षक देखिएपछि प्रधिकरणले २०५७ देखि २०६० सालसम्म आफ्नै आर्थिक, भौतिक र मानवीय स्रोतको प्रयोग गरेर आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो।

आयोजनामा प्राधिकरणको ४१ प्रतिशत सेयर छ। आयोजनाबाट उत्पादित बिजुली प्रतियूनिट औसतमा तीन रूपैयाँ ५० पैसा छ। व्यापारिक उत्पादन भएको वर्ष औसतमा चार रूपैयाँ ०६ पैसा प्रतियुनिटमा खरिद गर्ने सम्झौता गरिएको छ।

प्राधिकरण र अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीबीच भएको सम्झौताअनुसार आयोजनाबाट उत्पादित बिजुलीको खरिद दर हालसम्मकै सस्तो हो। सोही कारणले प्राधिकरणलाई थप फाइदा हुने देखिन्छ। रासस 

फेसबुकबाट तपाईको प्रतिक्रिया