ललितपुर। विवादित गृहमन्त्री रमेश लेखक विरुद्ध आज संसदमा नाराबाजी चलेको छ । भिजिट भिसा प्रकरणका मुछिएका मन्त्री लेखकलाई प्रतिपक्षी दलका सांसदहरूले मानव तस्करलाई कारबाही गरिनुपर्ने माग गर्दै संसदमा नाराबाजी गरेका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद श्याम घिमिरेलाई सत्ता पक्षको तर्फबाट बोल्न समय दिएसँगै विपक्षी सांसदहरूले ‘मानव तस्करलाई कारबाही गर’ भन्दै नाराबाजी गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्ने नदिने भन्दै सांसदहरुले नाराबाजी गर्दै कुर्सीबाट उठेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।
गृहमन्त्री लेखकलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न चौतर्फ दबाब आए पनि उनले भने सांसदहरुको दबाबकै कारण भने राजीनामा नदिने बताएका छन् । उनले आफ्नो पार्टीलाई अप्ठेरो परे आफू राजीनामा दिन तयार भएको तर सांसदहरुको आलोचनाकै कारण भने राजीनामा नदिने प्रष्ट पारिसकेका छन् ।