काठमाडौं । सरकारले आज मुस्लिम समुदायको इद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिएको छ । मुस्लिम धार्मावलम्बीहरुले एक महिनाको रमजानभर बसेको उपवास आजबाट सकिँदैछ ।
आज विहानै देखि नेपालका विभिन्न ठाउँहरूमा रहेका मस्जिदहरूमा विशेष नमाज पढ्न मुस्लिम समुदाय जम्मा भइरहेका छन् । नमाजपछि एक–आपसमा अँगालो मार्दै शुभकामना आदान–प्रदान गर्ने परम्परा मुस्लिम समुदायमा छ ।
इद उल फित्र मुस्लिम समुदायको एक महत्वपूर्ण चाड हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनसँगै इदलाई बिदा गर्ने परम्परा छ ।
रोजा अवधिभर मुस्लिम धर्मावलम्बीहरूले विहान सूर्योदयदेखि साँझ सूर्यास्त नभएसम्म पानीसम्म पनि नखाइकन एक महिनाभर निष्ठापूर्वक व्रत बस्ने चलन छ । जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।
धार्मिक सद्भावलाई सुदृढ बनाउन र सबै धर्मलाई समान रुपमा लिनु पर्ने भन्दा केही वर्षदेखि नेपाल सरकारले इदको अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । आज नेपालमा मुस्लिम समुदायले इद विशेष हर्षोल्लासका साथ मनाउँदैछन् ।