Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर। गत चैत १५ गते तीनकुनेमा हिंसात्मक प्रदर्शनको नेतृत्व गर्दै अराजक गतिविधिमामा संलग्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दाको अभियोगमा दुर्गा प्रसाईँसहित सात जनालाई गएराति थुनामा पठाउन आदेश दिएको थियो ।

मध्यरातमा पुर्पक्षको लागि थुनामा पठाउन आदेश पाएका मेडिकल व्यवसायी प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । अदालतको आदेशअनुसार, दुर्गा प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठलाई आजै डिल्लीबजार कारागार चलान गरिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा संलग्लन रही पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरुमा घर आगजनी र पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरूसहित छन् ।

तिनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरुले गरेको आगजनीका कारण सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्णरुपमा क्षति भएको थियो । सोही घरमा पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए । उक्त आगजनीमा रामेछापको सुनापति गाउँपालिका घर भएका सरोज गौतम र अछाम पञ्चदेवलका गोकर्ण शाही संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया