Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

मेयर बालेनले गरे कार्यपालिका बैठक बोलाउने तयारी

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले कार्यपालिका बैठक र नगर सभा बोलाउने तयारी गरेका छन् । गत पुस १४ गते यता बस्न नसकेको कार्यपालिका बैठक अब भने बस्ने तयारीमा छ । उनले हिजो मात्र (बुधबार) काठमाडौँ प्लाजामा उपमेयर सुनिता डङ्गोलसहित तीन जना वडाअध्यक्षहरुसँग छलफल गरेको खुलेको छ । बुधबारको छलफल पश्चात् मेयर साह महानगरपालिकाको कार्यपालिका बैठक र नगर सभा बोलाउने सहमतिमा पुगेका छन् ।

लामो समयदेखि मेयर शाह र उपमेयर डङ्गोल बीच संवाद समेत हुन सकेको थिएन । तर बुधबार उपमेयर डङ्गोल सहित तीन वडा अध्यक्षसँगको छलफल भएको र अब मेयर साह कार्यपालिका बैठक र नगर सभा बोलाउन तयार भएको बुझिएको छ । बुधबारको छलफलमा वडा– १७ का वडाध्यक्ष नवीन मानन्धर, वडा–३२ का वडाध्यक्ष नवराज पराजुली र वडा– १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलको समेत सहभागिता थियो ।

काठमाडौं महानगरपालिकाको कायैपालिका बैठक बस्न नसक्दा महानगरपालिको बजेट नै अन्योलमा पर्ने दखिएपछि यसतर्फ मेयरको ध्यानाकर्षण भएको देखिन्छ । यसैबीच वडा– १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले मेयर साहसँग कार्यपालिका बैठक र महानगरका नियमित कामको विषयमा छलफल भएको बताएका छन् । उनले मेयर साहसँगको भेट नियमित भएको उल्लेख गर्दै अब चाँडै कार्यपालिका बैठक र नगर सभा डाक्न सहमत भएको जनाकारी दिए ।

मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बीचको विवाद चुलिएकै कारण कार्यपालिका बैठक बस्न सकेको थिएन । मेयर एक पक्ष र उपमेयर डङ्गोल तथा वडा अध्यक्ष एकै ठाउँमा आउँदा थप समस्या बढ्दै गएको थियो । उपमेयर सुनिता डङ्गोलले प्रशासकिय अधिकृत सरोज गुरागाइँको पक्ष लिएपछि उत्पन्न विवादसँगै मेयर र उपमेयरबीच संवाद भएको थिएन । बुधबारको छलफल पश्चात् अब मेयर शाहले कार्यपालिका बैठक चाँडै डाक्ने तयारी गरेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया