काठमाडौं । प्रशासकीय अधिकृतलाई कार्यालयमा छिर्न नदिने भन्दै काठमाडौंका महानगरका मेयर बालेन शाहले नगर प्रहरी परिचालन गरेपछि तनावको स्थिति सिर्जना भएको छ । बालेनले प्रकाशकीय अधिकृतलाई छिर्न नदिन नगर प्रहरी पपरिचालन गरे भने महानगरका कर्मचारी उनकै स्वागतमा कार्यालयको गेटमा भेला भएका हुन् ।
संघीय सरकारले काठमाडौं महानगरपालिकामा प्रशासकीय अधिकृतका रुपमा सरोजप्रसाद गुरागाईलाई नै निरन्तरता दिँदै कार्यालयमा हाजिर हुन पठाएपछि दुई पक्षबीच टकराव देखिएको छ ।
महानगरमा प्रशासकीय अधिकृत नहुँदा विगत ५ महिनादेखि महानगरपालिकाका कर्मचारीहरुले तलव खान पाएका छैनन् । पाँच महिनादेखि तलव विहीन कर्मचारीहरुले नै गुरागाईलाई हाजिर गराउने तयारी गरेका थिए । तर, मेयरले उनलाई रोक्न नगर प्रहरी परिचालन गरेपछि यतिबेला महानगरपालिकाको कार्यालय परिसरमा तनावको स्थिति सृजना भएको छ ।
काठमाडौंको पुरानो बसपार्क क्षेत्रमा निर्माणाधीन काठमाडौं टावरको नक्सा पास गर्दा अनियमितता गरेको भन्दै मेयरले अधिकृत गुरागाईलाई कारवाहीको लागि सिफारिस गरेका थिए । तर, उनीमाथिको आरोप अपुष्ट भन्दै संघीय सरकारको सामान्य प्रशासन मन्त्रालयले महानगरको प्रशासकीय अधिकृत पदमा उनैलाई निरन्तरता दिन भनेपछि बालेन यसको विरुद्धमा देखिएका हुन् ।