काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्वका कारण आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम अन्योलमा परेको छ । त्यतिमात्र नभएर विगत ५ महिनादेखि महानगरको कार्यपालिका बैठक बस्न सकेको छैन । बैठक तथा छलफल हुन नसक्दा असार १० गतेभित्र पेस गरिसक्नुपर्ने बजेट र नीति तथा कार्यक्रम नै अन्योलमा परेको छ ।
यस्तै हुने हो भने महानगरको आगामी वर्षको आर्थिक गतिविधि साउन १ गतेदेखि बन्द हुनेछ ।
मेयर र प्रशासकीय अधिकृतबीचको विवाद चुलिएपछि गत पुस महिनादेखि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्न सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार महिनाको एक पटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था छ ।
यस अघि दुई पटकसम्म काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाहलाई कार्यपालिका बैठक बसाउनका लागि उपप्रमुख सुनिता डंगोलसहित महानगर कार्यपालिका सदस्यहरुले पत्र बुझाइसकेका छन् । पहिलो पटक गत चैत १० गते बैठक राख्न अनुरोधका साथ पत्र बुझाइएको थियो भने दोस्रो पटक जेठ १२ गते पुनः मेयर बालेनलाई पत्र बुझाएका थिए । तर उनले दुवै पटक बैठक बोलाउने प्रतिबद्धता जनाए पनि अहिलेसम्म महानगरको कार्यपालिका बैठक बस्न सकेको छैन ।
यता संघीय सरकारले कार्यकारी अधिकृत परिवर्तन नगरिदिने उता महानगरपालिकाका मेयरले प्रशासकीय अधिकृतलाई भ्रष्टाचारीको संज्ञा दिँदै नरुचाउने कारणले पनि दुई बीचको विवाद चुलिएको छ । यसले महानगरको आगामी आर्थिक वर्षको बजेट नै अन्योलमा परेको देखिन्छ ।
कार्यपालिका बैठक बोलाउन माग गर्दै उपप्रमुख सुनिता डंगोलसहित महानगर कार्यपालिका सदस्यहरूले १२ जेठमा मेयर बालेनलाई पत्र बुझाएका थिए । त्यसअघि १० चैत २०८१ मा पनि मेयर बालेनलाई भेटेरै कार्यपालिका बैठक राख्न अनुरोध गर्दै पत्र बुझाइएको थियो । बालेनले बैठक बोलाउने प्रतिबद्धता जनाए पनि पुषयता कार्यपालिकाको बैठक बसेको छैन ।