मोटरसाइकलमा लिफ्ट मागेर पाकेटमार गरेको अभियोगमा रामेछापमा एक युवती पक्राउ परेकी छिन्।
मन्थली नगरपालिका ६ की २१ वर्षीया लक्ष्मी भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज ढुंगानाले जानकारी दिए।
उनले एक जना ब्यक्तिसँग मोटरसाइकलमा लिफ्ट मागी २३ हजार ५ सय रुपैयाँ पाकेटमार गरेको प्रहरीले बताएको छ।
पाकेटमार गरे लगत्तै पक्राउ परेकी उनको साथबाट प्रहरीले सो रकम बरामद गरेको छ। मुलुकी संहिता अनुसार १० हजार भन्दा बढी बगली मारेमा चोरी गरे सरह सजाय हुने व्यवस्था छ।
पक्राउ परेकी युवतीलाई विहीबार म्याद थपको लागि अदालतमा पेश गरिएको छ।
रामेछापमा नयाँ उपाय अपनाएर पाकेटमार गर्न थालेपछि जिल्ला प्रहरी कार्यालयले नचिनेको मानिसलाई लिफ्ट नदिन मोटरसाइकल चालकहरुसँग आग्रह गरेको छ।