यसरी सफल भयो सगरमाथाको उचाइ मापन

खेमराज गौतम

गलकोट १० चैत, २०७७।

विसं २०७६ जेठको पहिलो साता सरकारले सगरमाथाको उचाइ नाप्न नापी विभागको प्राविधिक टोली सगरमाथा पठाएको थियो । एक वर्षको तयारी र तालीमपश्चात् सरकारी प्राविधिक टोली सगरमाथा पुगेका थिए । सगरमाथा मापन गरी सङ्कलन गरेको तथ्याङ्कका आधारमा सगरमाथाको उचाइ पनि केही थपिएको छ । यसअघि आठ हजार ८४८ मिटर रहेको सगरमाथाको उचाइ ०.८६ मिटर थप भएर आठ हजार ८४८.८६ मिटर भएको घोषणा नेपाल सरकारले गरिसकेको छ ।

नेपाल र चीन सरकारद्वारा संयुक्तरुपमा २०७७ मङ्सिर २३ गते नयाँ उचाइ सार्वजनिक भएको हो । सगरमाथाको उचाइ सार्वजनिक भएसँगै एकाएक सगरमाथा मापनमा सहभागी नेपाली प्राविधिक टोली पनि चर्चाको शिखरमा पुगेका पाइएको छ । नयाँ उचाइ सार्वजनिक गरेलगत्तै सगरमाथाको उचाइ मापन गर्नेको खोजी हुन थाल्यो । सगरमाथाको चुचुरोमै पुग्ने नापी विभागका खिमलाल गौतम र रविन कार्कीको नाम एकाएक चर्चामा आयो । सगरमाथा आरोहण गर्नु आफैँमा चुनौतीपूर्ण विषय हो ।

चुनौतीको पहाड विश्वको उच्च शिखर सगरमाथा आरोहण गर्न सानोतिनो हिम्मतले पुग्दैन जसका लागि दृढ सङ्कल्प र आत्मबल आवश्यक पर्दछ । सगरमाथा शिखर चुम्ने कति आरोहीका इच्छा सगरमाथाको चुचुरोसम्म नै पुग्न सक्दैनन् ।

कोही अरोही सगरमाथा चढेको खुशियालीसमेत साट्न नपाएका दुःखद खबर पनि हामीले सुन्दै आएका छौँ । जीवन र मरणको दोसाँधमा रहेर सगरमाथा आरोहण गर्ने र देशको झण्डा फहराउने इच्छा त धेरैको हुन्छ, तर सबैको यो इच्छा पूरा भने नहुन सक्छ ।

नेपाल सरकारले रबिन कार्कीसहितको प्राविधिक समूहलाई सगरमाथा आरोहणमात्र होइन मापनको जिम्मेवारी पनि दिएको थियो । नेपालले पहिलोपटक सगरमाथाको उचाइ मापन गर्न खटाएको नापी विभागका चार सदस्यमध्येका एक हुन् नापी अधिकृत रबिन कार्की ।

कार्कीलगायतको समूहको चर्चा त्यतिबेला शुरु भयो जतिबेला उनीहरुले सकुशल सगरमाथाको उचाइ मापन गरेको समाचार सार्वजनिक भयो । मङ्सिरमा सरकारले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेसँगै उनीहरुको चर्चा पनि बढेको हो । त्यसपछि उहाँहरुलाई बधाईको ओइरोका साथै उनीहरुले आरोहणका समयमा गरेका  अनुभवका कथाहरु पनि बाहिर आउन थाले ।

जिल्लाको बागलुङ नगरपालिका-८ सिगानामा जन्मेका २८ वर्षीय रबिन कार्की नापी विभागको टोलीसँग सगरमाथाको मापन गर्ने सदस्यका रुपमा छनौट भएका एक सदस्य हुन्। उनीहरुको समूहले सगरमाथा आरोहण गरी सगरमाथाको उचाइको तथ्याङ्क लिएर सफलतापूर्वक फर्कियो। उनीहरुको आरोहणका क्रममा सङ्कलन गरेको तथ्याङ्कका आधारमा सरकारले एक वर्ष छ महिनापछि सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको थियो ।

उचाइ मापनमा सरकारलाई दुई उपलब्धि
नेपालले पहिलो पटक आफ्नै प्राविधिकद्वारा सगरमाथाको उचाई मापन गर्नु नै पहिलो उपलब्धि मान्दै आएको थियो । उचाई मापन गर्नुपूर्व नेपाल सरकारले प्राविधिक समूहलाई विभिन्न देशमा पठाएर तालिम समेत दिएको थियो ।

सगरमाथाको उचाई नेपाल आफैले नाप्नु पहिलो उपलब्धि थियो भने सगरमाथाको उचाईमा थोरै मात्र भए पनि बृद्धि हुनु अर्को उपलब्धिका रुपमा रहँदै आएको छ। सगरमाथाको आरोहणसँगै उचाईको तथ्याङ्क सङ्कलनका लागि पुगेका नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको टोलीसँगै पुगेका रविन कार्कीले सगरमाथाको उचाई मापनले नेपालको शिर थप उच्च भएको बताए।

जीवनको अग्निपरीक्षा उत्तीर्ण गरेको स्मरण गर्दै कार्कीले सगरमाथा आरोहण र मापनको काम जतिधेरै जटिल भए पनि सगरमाथाको उचाई सार्वजनिक भएसँगै विर्सिएको बताए । ‘आरोहण र मापनका क्रममा सगरमाथामा धेरै दुख, सङ्घर्ष तथा आफूलाई समेत मृत्युको मुखमा पुर्‍याएर काम गरेका थियौं, यो दुःख दुःखमात्रै हुन्छ कि भन्ने थियो’ कार्कीले भने ‘तर अहिले सगरमाथाले नयाँ उचाई पाउँदा सबै दुःख खुशीमा परिणत भए, हामी निकै खुशी भयौँ ।’

यसरी सफल भयो सगरमाथाको उचाइ मापन

इन्जिनीयर भइसकेपछि नापी अधिकृतका रुपमा नापी विभागमा कार्यरत रहँदा सगरमाथाको उचाइ मापनका लागि कार्कीले आवेदन गरे।  उनलाई त्यसबेला थाहा थिएन सगरमाथा आरोहण यति कठिन होला भनेर । कार्कीले भने, ‘सगरमाथा आरोहण र उचाइको महत्व सगरमाथा चढ्ने क्रममा मात्रै धेरै बुझ्ने मौका मिल्यो’, कार्कीले भने, ‘एउटा राष्ट्रसेवकले जन्मभूमिप्रतिको माया र सद्भाव दर्शाउन पाएको क्षण हो यो ।’

पहिलोपटक सगरमाथाको उचाइ मापनका लागि छनोट भई सगरमाथा पुगेका कार्कीले आफ्नै मृत्यु देखेर आएको स्मरण गर्नुहुन्छ । ‘धेरै पटक मृत्युको जोखिममा पुगियो, सबैभन्दा ठूलो कुरा देशप्रतिको स्वाभिमान रहेछ, त्यही स्वाभिमानसहितको आत्मबलका कारण सफलता प्राप्त भएको छ ।’

सगरमाथा मापनका लागि नापी विभागका मुख्य नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षण सुरज सिं भण्डारी र अमिन युवराज धितालको समूह अन्तर्राष्ट्रिय पथप्रदर्शक (गाइड) छिरिङजङ्बु शेर्पा, गाईड छेवाङ शेर्पा, पेमङनिमा शेर्पा र लाक्पा थिङ्द्रुत शेर्पाको समूह २०७६ साल चैत २६ गते काठमाडौँबाट सगरमाथाका लागि प्रस्थान गरेको थियो ।

यसमध्ये गौतम र कार्कीसहित गाइड शेर्पा र लाक्पा थिङ्द्रुत शेर्पा मापनका लागि सगरमाथाको चुचुरोमा सफलतापूर्वक पुगेका थिए । ‘काठमाडौँबाट जब प्रधानमन्त्री केपी शर्मा वली र तत्कालीन भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले बिदाइका क्रममा फूलको माला गलामा पहिर्‍याए । त्यस क्षणमा देशको जिम्मेवारी बोकेर सगरमाथातर्फ हिडेँ’, कार्कीले भने, ‘निकै गर्वको महसुस भएको थियो, जुनसुकै अवस्थामा पनि सफलता प्राप्त गर्ने सङ्कल्पका साथ काठमाडौँबाट हिँडेका थियौँ ।’

उनले सगरमाथाको आधार शिविर पुग्दा पाँच दिन ज्वरोले थला परेको र छैटौँ दिनमा बिरामी शरीरले उचाइ मापन सामग्री बोकेर हिम्मतका साथ पहिलो क्याम्पतर्फ लागेको सुनाए । आधार शिविरमा उपचार गराएपछि कतै असफल हुने हो कि आशङ्का लागे पनि पछि भने स्वास्थ्यले साथ दिएको उनले सुनाए ।

सगरमाथा चढ्नुपूर्वका तालीमहरु स्मरण गर्दै नापी विभागका दुई सदस्य आधा शिविरमा छोडेर १ नम्बर क्याम्प हुँदै २ नम्बर क्याम्पतर्फ लागेको कार्कीले बताए । आरोहण दलका दुई ‘गाइड’ छेवाङ शेर्पा, पेमङनिमा शेर्पाले स्वास्थ्य समस्याका कारण यात्रा स्थगन गरेको उनी बताउँछन् ।

३ नम्बर क्याम्पमबाट अक्सिजनको प्रयोग आवश्यक थियो । ‘निकै उकालो पार गर्दै अगाडि बढ्ने क्रममा आँखै अगाडिबाट चट्टानका सानासाना टुक्रा हावाको वेगसँगै खस्दा टाउको जोगाउनै मुस्किल भएको र बाँचिन्छ होला भन्ने नै लागेको थिएन’, कार्कीले भने, ‘तर मर्न नलेखेपछि जस्तो परिस्थितिमा पनि बाँचिदोरहेछ भन्ने लाग्यो ।’ निकै असहजबीच ४ नम्बर क्याम्पमा पुगेका हामी मौसम निकै खराबीका कारण एक दिन यात्रा स्थगन गरियो अक्सिजन धेरै खपत भयो ।

यात्राका क्रममा मरेका आरोहीहरुको लास देख्दा मनमा चिसो पस्थ्यो, केही शङ्का लाग्थ्यो एक छिनपछि हिम्मत पलाउँथ्यो उनले स्मरण गर्दै भने, ‘किनकि हामीले आरोहणमात्र हैन सगरमाथाको मापनसमेत गर्नुछ ।’ ‘क्याम्पमा सुत्ने बेलामा क्याम्प छेउमै लासका थुप्राहरु थिए, मनमा निकै डर लग्थ्यो सुत्न सकिएन’, उनले भने ।

यात्रामा एक दिन ढिला हुँदा अक्सिजनको खपत बढी हुने र यदि त्यसो भयो भने अक्सिजन नपुग्ने समस्या थियो उनी भन्छन्, ‘गौतम सरले एकपटक मलाई भन्नुभयो तिमी जवान छौ, अक्सिजनको अभाव हुन सक्नेछ म यहीँ बस्छु तिमी शिखरमा जाऊ । पछि हिम्मतका साथ गौतम सरसँगै चारजनाको टोली जेठ ७ गते १:४५ बजे सगरमाथातर्फ प्रस्थान गर्‍यौँ ।’

बेलुका ८ बजे बालकोनीमा पुगेर अक्सिजन फेरेर पुनः उकालो लाग्यौँ । अनेक समस्यासँग जुध्दै बिहान ३ बजे सगरमाथामा पुग्न सफल भयौँ’, कार्कीले स्मरण गरे । संसारको अग्लो चुचुरोमा पुग्दा थाम्नै नसकिने गरी खुशीका आँसु बगेको उनले सम्झिए । चुचुरोमा पुगेका छिरिङ र लाक्पाको सहयोगमा गौतम सरले र मैले तथ्याङ्क जम्मा गरी दुई घण्टामा चुचुरोबाट तल झर्‍यौँ । त्यतिबेला थकानको कुनै महसुस नभएको उनको भनाइ छ ।

फर्किंदा झन् समस्या
उनले सगरमाथाको चुचुरो चुमेर फर्किंदै गरेको अनुभव सुनाउँदै भने, ‘फर्कने क्रममा अक्सिजन सकिन लागेको महसुस भयो । बालकोनीसम्म आउन २०० मिटर बाँकी थियो एक्कासी बेहोस् भएछु, थाहै भएन । गाइड छिरिङले मलाई उद्वारका लागि डोरीमा बाँधिसकेका रहेछन् ।

त्यसै क्रममा अपरिचित आरोहीले सहयोग गरेको एक सेट अक्सिजन सिलिण्डरको प्रयोगबाट बाँच्न सफल भएँ । यो दिन जेठ ८ गतेलाई मैले पुनर्जन्म भएको महसुस गरेँ । अपरिचिति आरोहीले दिएको एक सेट अक्सिजनका कारण जीवत हुन पाएँ अहिले सम्झदा निकै झसङ्ग हुन्छु ।’

सगरमाथा आरोही र आफूहरुमा केही फरक रहेको उनको अनुभव छ । कार्की भनछन्, ‘उनीहरु खाना, पानी र अक्सिजनमात्र बोकेर सगरमाथा चढ्थे, हामी मापन गर्ने यन्त्रसँगै सगरमाथा पुग्यौँ ।’

सफल आरोहणपछि हेलिकप्टरमार्फत जेठ ९ गते काठमाडौँ आएको नापी विभागको टोलीलाई सबैले गरेको सम्मानले आफ्ना लागि हिम्मत हारे पनि देशका लागि हिम्मत जुटाएका कारण सफलता हासिल गरेको कार्कीले बताए । Rss

फेसबुकबाट तपाईको प्रतिक्रिया