भैरहवा । पूर्व मन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान भएका छन् । दुई दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएका लामिछाने आज जिल्ला कारागार चलान भएका हुन् ।
सोमबार बिहान जिल्ला अदालत भैरहवा पेस गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उनलाई कारागार चलान गरिएको हो । अदालत पेस गरेपछि मात्र उनलाई थुनुवा पुर्जी थमाइएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीको नेतृत्वको टोलीले लामिछानेलाई अदालत पेस गरेलगत्तै थुनुवा पुर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरेर कारागार लगिएको थियो । जिल्ला प्रहरीको टोलीले सोमबार बिहान कार्यालय समय भएपछि बुटवल पुगेर उच्च अदालतको आदेशको मिसिल बुझेको थियो । मिसिल बुझेर भैरहवा ल्याएपछि जिल्ला प्रहरीको हिरासतबाट लामिछानेलाई अदालत पेस गरिएको थियो ।
भैरहवा जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार करिब एक घण्टासम्म कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि लामिछानेलाई कारागारको ब्लक नं ४ मा राखिएको छ । ब्लक नं. ४ मा यतिबेला उनी एक्लै छन् ।
उनलाई राखिएको ४ नम्बरको ब्लकमा अरु कैदी राखिएको छैन । ब्लक नं. ४ अन्य कैदीबन्दीलाई राखिएको भवनभन्दा बाहिर रहेको छ । शुक्रबार राति काठमाडौँबाट पक्राउगरिए पनि लामिछानेलाई शनिबार बिहान मात्र भैरहवा ल्याइएको थियो । शनिबार र आइतबार दुई दिन बिदा सरकारी बिदाका कारण उनलाई दुई दिनसम्म जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो ।
सोमबार बिहान लामिछानेलाई अदालत लैजानुअघि भैरहवा सदरमुकामको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास बाक्लो संख्यामा सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।
जिल्ला अदालत रूपन्देहीले दिएको रु एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो । गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
एकै खालको मुद्दामा एकजनालाई धरौटी र अर्कालाई थुना भएपछि सरकारी वकिल कार्यालयले लामिछानेलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पुगेका कारण उनलाई पनि कारागार चलान गरिएको हो ।