Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा टेलिकमको फोरजी मोबाइल सेवा विस्तार

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर। नेपाल टेलिकमले नेपालको प्रसिद्ध एवम् सुन्दर पदयात्रा गन्तव्यको रूपमा परिचित रहेको लाङटाङ–क्यान्जिन पदमार्गमा सो क्षेत्रका स्थानीय बासिन्दा तथा पर्यटकलाई लक्षित गरी फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाडौँदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रूपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाले पर्यटकहरूलाई यात्राका दौरानमा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनहरूसँग साटासाट गर्न सहयोग पुग्ने सह( प्रवक्ता नवीन कुमार मिश्रले बताए । समुद्री सतहबाट करिब ३८०० मिटरको उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बीटीएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका(४ मा पर्ने र स्याफ्रुबेशीबाट लगभग २ दिनको पैदलयात्रामा पुगिने मनमोहक पर्यटकीय स्थल क्यान्जिन उपत्यका स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो ।

लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने यस उपत्यकामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरू तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरू समेत दूरसञ्चार सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया