काठमाडौँ । राजधानीका विभिन्न क्षेत्रमा भइरहेको आन्दोलनका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ । विभिन्न पार्टी तथा संगठनहरुले राजधानीको फरक फरक स्थानमा आन्दोलन गरेकै कारण यहाँ सहज तरिकाले सवारीसाधन सञ्चालन हुन सकेको छैन ।
नेपाल शिक्षक महासङ्घ लामो समयदेखि सडक आन्दोलनमा उत्रिएका कारण माइतीघर, बबरमहलदेखि नयाँ बानेश्वरसम्म दिनभरजस्तै सवारीसाधन चल्न पाएका छैनन् भने आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा आवात–जावत गर्ने सर्वसाधारणलाई झनै सास्ती भएको छ ।
अर्कोतिर सहकारी र लघुवित्त पीडितले प्रदर्शन गरिरहेका कारण काठमाडौंको सवारी आवागमन थप प्रभावित हुने भएको छ ।
विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ । प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिनुभयो ।
कार्यालय समयमा सवारीसाधन लामो समयसम्म जाममा पर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । आज राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा गरिरहेको प्रदर्शनका माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको छ ।
उक्त क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको छ भने धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।
त्यसैगरी विगत १९ दिनदेखि देशभरका शिक्षकहरु सडक आन्दोलनमा छन् । त्यसमाथि पनि आज राप्रपाको प्रदर्शन थपिएपछि त्यस एरियाको सवारी व्यवस्थापन जटिल बनेको हो ।
राप्रपाले निषेधित क्षेत्र तोडेर आन्दोलन गर्ने भनिरहँदा गृहमन्त्रालयले राप्रपाका नामबाट निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउदै गृहमन्त्रालयले कानुन उल्लङ्घन गर्न प्रोत्साहन गर्ने, समाजमा अराजकता फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय जनाएको छ।
डाइभर्सन गरिने मुख्य स्थानहरु :
• खसिबजार – मकालु – कलंकी चोक- बाफल
• बल्खु चोक- कुलेश्वर- कालीमाटी चोक- टेकु
• किर्तिपुर- सुन्दरीघाट- सानेपा- एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाईन्टहरु
• त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सितापाईला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।
प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराउँदै बल्खुमा आन्दोलनरत पक्षलाई पार्किङको समेत जानकारी गराएको छ।
पार्किङ्ग गर्ने स्थानहरु :-
टियू गेटदेखि चोभार सडक
सानेपा करिडोर सडक (दुबै तर्फ)
चोभार सुख्खा बन्दरगाह
नयाँबसपार्क
• सितापाईला – बाफल सडक खण्डमा एक लाइन