ललितपुर । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा परेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको दाबी गरेका छन् ।
रौतहटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ओली बदलाको भावनाले चलेको प्रतिक्रिया दिएका हुन् । उनले आफ्नो राजनीतिक करियर समाप्त पार्ने ओलीको नियत भएको बताए । उनले आफूले भ्रष्टाचार नगरेको र कसैलाई पनि भ्रष्टाचार गर्न आदेश दिने काम पनि नभएको प्रष्ट्याए ।
नेपालले पतञ्जली योग तथा आयुर्वेद औषधि कम्पनीका लागि जग्गा हदबन्दी दिँदा आफूले कुनै अनुचित लाभ नलिएको बताए ।
यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नेपालले समस्याको समाधान गर्ने कानुनी बाटो यस्तो रहेछ भन्ने प्रस्ताव आएपछि निर्णय भएको हुनुपर्ने बयान दिएका छन् ।
नेपालले सरोकारवाला मन्त्री र मुख्यसचिवले कानुनी बाटो यस्तो रहेछ भन्ने सुझाव दिएपछि पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा निर्णय भएको हुनसक्ने बताए । यसेबीच नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साधेर आक्रमण भएको आरोप लगाएको छ । पार्टी उपाध्यक्ष वेदुराम भुसालले बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पार्टी अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साधेर आक्रमण भएको भन्दै राजनीतिक र कानुनी प्रतिवाद गर्ने बताएका छन् ।