ललितपुर। राजसंस्था पुनस्थापनाको माग गर्दै आन्दोलन गर्न लागेका राजावादी समूहले तीनदिने जनजागरण अभियान एकाएक स्थगित गरेको छ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले तय गरेको तीन दिने जनजागरण अभियान स्थगित एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी गराएको छ । वर्तमान व्यवस्था विरोधी समूहले आजदेखि सुरु गर्ने भनिएको धार्मिक तथा जनजागरण अभियान हिजो (बुधबार) एक सूचनामार्फत स्थगित भएको जानकारी गराइएको हो ।
जेठ १५ गतेदेखि हुने आन्दोलनको पूर्वसन्ध्यामा जेठ ८ गतेदेखि ११ गतेसम्म हुने भनिएको अभियान काठमाडौँ उपत्यकाकाको काँठ क्षेत्रमा तय गरिएको थियो । तर बुधबार संयोजक नवराज सुवेदीले जारी गरेको सूचनामा भनिएको छ, ‘जेठ ८ देखि ११ गतेसम्मलाई काठमाडौँ उपत्यकामा तय भएको धार्मिक तथा जनजागरण अभियान विशेष कारणवश स्थगित गरिएको छ । यस सम्बन्धमा अर्को सूचना हुनेछ ।’
यसैबीच आन्दोलन संघर्ष समिति मातहतको निर्देशक समितिकी सदस्य अस्मिता भण्डारीले जेठ १५ देखि हुने आन्दोलनको आन्तरिक तयारी गर्नुपर्ने भएकाले पूर्वनिर्धारित अभियान स्थगन गरिएको बताएकी छन् ।
राजावादी समूहले राजसंस्था पुनर्स्थापनाका लागि निर्णायक आन्दोलन भन्दै यही जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिनदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ।