काठमाडौँ । भोली जेठ १५ अर्थात् १७ औंँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्रका विरोधीहरुको समूहले काठमाडौं उपत्यकामा प्रदर्शनको तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितको राजावादीहरुको समूहले जेठ १५ गते उपत्यकाब्यापी प्रदर्शन गर्न लागेका हुन् ।
गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि भोली हुन लागेको प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यका प्रहरी कार्यलयले यहाँको सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ । विहीबार राजावादी निकट समूहले उपत्यकामा पूर्वराजाको पक्षमा प्रदर्शन गर्न लागेका हुन् ।
यसैगरी सत्ताको नेतृत्व गरिरहेको पार्टी नेकपा (एमाले)ले पनि भोली नै उपत्यकामा प्रदर्शन गर्ने भएको छ । भोलीको प्रदर्शनमा हिंसा भड्कन नदिनका लागि प्रदर्शनअघि नै उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले काठमाडौँ उपत्यकामा कार्यरत युनिट इन्चार्जहरूलाई ब्रिफिङ गरेका छन् । आज बिहान तामाङले भृकुटीमण्डप स्थित पुलिस क्लबमा काठमाडौँ र ललितपुरका एसएसपी तथा भक्तपुरका एसपी सहितका अधिकृतहरूलाई ब्रिफिङ गरेका हुन् । ब्रिफिङमा तीनवटा जिल्लाका १८ जना वृत्त इन्चार्ज र प्रभागको नेतृत्व गर्ने इन्स्पेक्टरहरू सहभागी थिए ।
आ–आफ्नो एरियामा भोली विशेष रुपले भरपर्दो सुरक्षा संयमता अपनाउँदै एआईजी तामाङले इन्चार्जहरूलाई सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइसकेका छन् ।
प्रदर्शनमा उत्रने राजावादी समूहको सूचना सङ्कलन गर्न एआईजी तामाङले आफ्नो मातहतका सुरक्षा निकायलाई शान्ति सुरक्षा राम्रो गर्दै आफ्नो सुरक्षामा पनि ध्यान दिन निर्देशन दिएका छन् । प्रदर्शनकारीको सम्भावित गतिविधिका सूचना सङ्कलनमा समेत निगरानी राख्न उनले निर्देशन दिएका छन् ।
भीआइपी, भीभीआईपी र मुख्य प्रतिष्ठानहरूको सुरक्षाका लागि उनले आफ्नो मातहतका युनिटहरुलाई निर्देशन दिएका छन् ।