काठमाडौं । आज जनआन्दोलन दिवस, यसैदिनलाई लक्षित गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकाली बल्खुमा पुगेर आमसभा गर्दैछ । राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्रको मागसहित आज राप्रपाले आमसभा गर्न लागेको हो । प्रारम्भिक चरणमा राप्रपाले विहान ११ः३० बजे बल्खुमा आमसभाको सम्पूर्ण तयारी गरेको छ ।
आमसभालाई पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत अन्य व्यक्तित्वहरुले सम्बोधन गर्ने छन् । आजको राप्रपाको प्रदर्शनमा राजसंस्था पुनस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको पनि समर्थन रहेको छ । संयुक्त जनआन्दोलन समिति पनि आज राष्ट्रिय झण्डा सहित राप्रपाको प्रदर्शनमा सहभागी हुने छ ।
यतिबेला काठमाडौंका विभिन्न स्थानबाट र्याली तथा जुलुस बल्खु जाने क्रम जारी छ । आजको राप्रपाको आमसभा र विरोध कार्यक्रमका कारण सवारी आवागमन प्रभावित हुने भएकाले ट्राफिक प्रहरी काठमाडौंले सवारी डाइभर्सनको व्यवस्था मिलाएको छ ।
जसअनुसार बल्खु चोक–कुलेश्वर–कालीमाटी चोक–टेकुमा सवारी ड्राइभर्सन गरिएको छ भने कलंकीको खसिबजार–मकालु चोक हुँदै बाफलतर्फ सवारी ड्राइभर्सन गरिएको छ ।
त्यसैगरी कीर्तिपुर–सुन्दरीघाट–सानेपा–इकान्तकुना चल्न सवारी साधन पनि ड्राइभर्सन गरिएका छन् ।
परिस्थिति हेरेर त्रिपुरेश्वर–बालाजु नक्खु दोबाटो, सितापाइला र कोटेश्वर चोकसम्म पनि ड्राइभर्सन गर्न सकिनेछ ।