काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभबीच शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकामा खुसी व्यक्त गर्दै दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने बताएका छन् । उनले कोप–२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध अझै सुमधुर र प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी अजरबैजानका उपविदेशमन्त्री मामेडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए । उनले तीन दशकसम्म नेपाल र अजरबैजानबीच कुनै पनि समझदारीपत्रमा हस्ताक्षर हुन नसकेको बताउँदै आगामी दिनमा कुनै न कुनै समझदारीपत्रमा हस्ताक्षर गरेर सम्बन्धलाई अगाडि बढाउने बताए ।
उपविदेशमन्त्री मामेडोभले आगामी दिनमा नेपाल र अजरबैजानबीच समझदारीपत्रमा हस्ताक्षर हुनेगरी काम भइरहेको जानकारी समेत दिए ।